यदि यस्तो भए यहि सिजनको अन्त्यमा रोनाल्डोले छाड्नेछन् युनाइटेड …

एजेन्सी – क्रिस्टियानो रोनाल्डो जे सोचेर युभेन्टस पुगेका थिए, त्यसो हुन सकेन। च्याम्पियन लिग जित्ने महत्वाकांक्षा बोकेर उनी युभेन्टस पुगेका थिए। युभेन्टसलाई च्याम्पियन्स लिगमा बलियो अवस्थामा उभ्याउन उनले सक्दो प्रयास गरे। तर जहिले पनि सोचेजस्तो कहिले हुन्छ र ? युभेन्टसबाट च्याम्पियन्स लिग जित्ने महत्वाकांक्षा पूरा नहुँदा उनी नयाँ क्लबको खोजिमा जुटे।

युभेन्टसमा सन्तुष्ट हुन नसक्दा रोनाल्डोले धेरै पटक क्लब छाड्न लागेको हल्ला समेत चल्यो। तर रोनाल्डोले विभिन्न समयमा त्यस्ता हल्लाहरुको पछि नलाग्न आग्रह गरे। एकपटक त उनले क्लब छाड्न लागेको भनेर अनावश्यक हल्ला नगर्न सार्वजनिक चेतावनी नै दिएका थिए।

क्लब छाड्न लागेको भन्दै चलेको हल्लाको पछि नपर्न आग्रह गरेको केहि हप्ता नबित्दै रोनाल्डो पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्किए। रोनाल्डो युनाइटेड फर्किंदा फुटबल जगतमा तरंग नै पैदा भएको थियो। रोनाल्डो त्यसै युनाइटेड गएका होइनन्, उनी उपाधि जित्न गएका हुन्। तर युनाइटेडको पछिल्लो अवस्थालाई हेर्दा भने युनाइटेड उपाधि विहिन हुने देखिन्छ।

खराब प्रदर्शन र नतिजाहरूलाई हेर्ने हो भने युनाइटेड प्रिमियर लिग उपाधि होडबाट बाहिरिसकेको छ। त्यति मात्र होइन युनाइटेड च्याम्पियन्स लिग छनौट हुन पनि हम्मे-हम्मे पर्ने देखिन्छ। सिजनका ११ खेल सकिँदा युनाइटेडले ४ खेलमा हार बेहोरिसकेको छ। ५ खेलमा जित र २ खेलमा बराबरीको नतिजा निकाल्दा युनाइटेडले १७ अंक जोडेको छ।

अहिले युनाइटेड लिगको छैठौं स्थानमा छ। युनाइटेडलाई आर्सनल र वेस्ट ह्वामले उछिनिसकेका छन्। शिर्ष चारमा चेल्सी, म्यानचेस्टर सिटी, वेस्ट ह्वाम र लिभरपुल रहँदा यस्तै अवस्था रहे युनाइटेड च्याम्पियन्स लिगका लागि नभई युरोपा लिगका लागि छनौट हुनेछ।

हुन त सिजनका आधा खेल पनि नसकिएको अवस्थामा युनाइटेडले युरोपा लिग खेल्छ भनेर भन्न त छिटो होला। तर युनाइटेडले अहिले जस्तै कम्जोर प्रदर्शन गरिरहने हो भने त्यसो नहोला भन्न सकिन्न। यति त्यस्तो भैहालेको खण्डमा रोनाल्डोले आउने सिजनमै युनाइटेड छाड्नेछन्। नयाँ चुनौतीका लागि सधैं तयार हुने रोनाल्डो क्लबको खोजिमा जुट्नेछन्। त्यस अवस्थामा रोनाल्डो अमेरिका जान सक्ने सम्भावना बढ्नेछ।

प्रकाशित : मङ्गलबार, कार्तिक २३, २०७८२०:५८

बार्सिलोनाका लागि खुशीको खबर: स्टर्लिङ ल्याउने बाटो खुल्यो, ग्वार्डिओलाले खोलिदिए !