एजेन्सी – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका स्ट्राइकर रहिम स्टर्लिङ लालिगा क्लब बार्सिलोनामा ‘ल्याण्ड’ हुने सम्भावना बढेको छ। सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले एक अन्तर्वार्ताका क्रममा बार्सिलोनाले आफ्ना खेलाडीहरु भित्रयाउन सक्ने बताएसँगै स्टर्लिङ बार्सिलोनामा ल्याण्ड हुने सम्भावना बढेको हो।
एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा ग्वार्डिओलाले बार्सिलोनाले चाहेको खण्डमा आफ्ना खेलाडीहरु लैजान सक्ने बताए। तर त्यसको लागि बार्सिलोनाले सहि अफर गरिनुपर्ने गार्डियोलाको भनाई छ।
“हामीसँग गर्न धेरै काम छ तर यदि बार्सिलोनाले हाम्रा कुनै खेलाडीमा चासो राख्छ भने म विश्वस्त छु कि उनीहरूलाई भित्रयाउन सक्छन्। तर त्यसको लागि उनीहरुले सहि कदम चाल्नुपर्छ। “,मुन्डो डेपोर्टिभोले सोध्दा ग्वार्डिओलाले भने।
गर्विलो इतिहाँसका कारण धेरै खेलाडीहरु बार्सिलोना तर्फ आकर्षित हुने उनले बताए। बार्सिलोनामा जान धेरै खेलाडी तथा प्रशिक्षकहरु लालायित हुने उनी बताउँछन्। उनले भने,”शहर, इतिहाँसले खेलाडी र प्रशिक्षकहरुलाई लोभ्याउँछ। यदि बार्सिलोनाले हाम्रा खेलाडीमा रुचि राख्छ भने चाहेको कदम चाल्न सक्छ।”
स्टर्लिङ माथि बार्सिलोनाको चासो
सिटीमा स्टर्लिङको भूमिका खुम्चिरहेको छ। पहिला उनले सिटीमा जति मौका पाउँदै आएका थिए, त्यति मौका पाउन छाडेका छन्। जसले गर्दा उनी नयाँ गन्तव्यको खोजिमा जुटिरहेका छन्। बार्सिलोना पनि एक भर पर्दो स्ट्राइकरको खोजिमा छ। सिटीसँग सहमति हुन सकेको खण्डमा आउने ट्रान्सफर विन्डोमै स्टर्लिङलाई बार्सिलोनाले भित्रयाउन सक्छ।