रोनाल्डोले युनाइटेड छाड्ने !

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले यो सिजन पोर्चुगिज स्ट्रार क्रिस्टियानो रोनाल्डोसहित स्टार खेलाडी भित्र्याएर प्रिमियर लिगमा अरु टोलीलाई कडा चुनौती दिने अपेक्षा गरिएको थियो ।

तर, रोनाल्डोसहित राफयल भरान र जाडोन सान्चोलाई भित्र्याएको म्यानचेस्टर युनाइटेड घरेलु लिगमा संघर्षरत छ । ११ खेलमा १७ अंक जोड्दै अंक तालिकाका छैटौं स्थानमा रहेको छ । यस हिसावले युनाइटेडको नतिजा निराशाजनक नै छ । अझ, लिभरपुलसँगको ५–० को लज्जास्पद हार र म्यानचेस्टर डर्बीमा सिटीसँग २–० को हारले टोलीको मनोवल घटेको छ ।

यो नतिजाले प्रशिक्षक ओले गनर सोल्सायरमाथि ठुलो दवाव थपिएको छ । यही प्रदर्शन जारी रहे उनी बर्खास्तीमा पर्ने लगभग तय छ ।सोल्सायरको नेतृत्वमा युनाइटेड गत सिजन प्रिमियर लिगमा दोस्रो भएको थियो । तर यो सिजनको नतिजाले युनाइटेडलाई च्याम्पियन्स लिगमा छनोट हुन थप मिहेनत आवश्यक छ ।

१२ वर्षपछि युनाइटेड फर्किएको रोनाल्डोबाट समर्थकले धेरै ठुलो अपेक्षा गरेको थियो । रोनाल्डोको व्यक्तिगत प्रदर्शन राम्रो भएपनि टिमको प्रदर्शन एकरुपता हुन सकेको छैन । यही क्रम चलिरहे १२ वर्षपछिको रोनाल्डो र युनाइटेडको पुनर्मिलन लामो समय टिक्ने देखिदैन । युनाइटेड सन् २०२२–२३ को च्याम्पियन्स लिगमा छनोट नभएको खण्डमा रोनाल्डोले युनाइटेड छाड्ने सम्भावना छ ।

‘एक्सप्रेस’का अनुसार शीर्ष चारभित्र युनाइटेड नअटेमा रोनाल्डोले ओल्ड ट्राफोर्ड छोड्ने पक्का छ । उपाधि जित्नकै लागि इटालियन क्लब युभेन्टसबाट इंग्ल्यान्ड फर्किएका रोनाल्डोले युनाइटेडमा उपाधि जित्न असफल भए उनको ओल्ड ट्राफोर्ड बसाई लामो चल्न नसक्ने स्पष्ट देखिन्छ । रोनाल्डोले प्रिमियर लिग फर्किएपछि करिअर समाप्त गर्न नभएर उपाधि जित्नका लागि फर्किएको बताएका थिए ।

यसअघि युभेन्टसको प्रदर्शन खस्किएको र च्याम्पियन्स लिगमा समेत छनोट हुन नसक्ने डर भएपछि रोनाल्डोले इटाली छोडेको विभिन्न रिपोर्टमा सार्वजनिक भएको थियो । यसले पनि रोनाल्डोले टोली युरोपको सर्वाधिक ठुलो क्लब फुटबल प्रतियोगितामा छनोट हुन नसके युनाइटेड छोड्ने प्रवल सम्भावना छ ।

प्रकाशित : बुधबार, कार्तिक २४, २०७८०९:२८

जाभीको आगमनसँगै यी तीन खेलाडीको भविष्य धरापमा, बार्सिलोनाबाट आउट !