एजेन्सी – संकटग्रस्त क्याटलान क्लब बार्सिलोना पुगेका जाभी हर्नान्डेजका अगाडी चुनौती नै चुनौती छ। लगातार कम्जोर प्रदर्शन गरिरहेको क्लबलाई सफलता तर्फ डोर्याउन उनले क्लबमा कयौं रणनीतिक परिवर्तन गर्नुपर्नेछ।
क्लबका पूर्व खेलाडी समेत रहेका उनले प्रशिक्षण थालिसकेका छन्। पछिल्ला प्रशिक्षकहरुबाट भएका सम्पूर्ण गल्तीलाई सच्याउँदै उनी अगाडी बढ्न चाहन्छन्। बार्सिलोनाको प्रशिक्षकको रुपमा काम गर्न उनलाई धेरै गार्हो पर्ने देखिन्छ। क्लब चरम आर्थिक समस्यासँग जुधिरहेका कारण उनले खुलेर खर्च गर्न पाउने छैनन्।
उनले क्लबमै रहेका खेलाडीहरुमा भर पर्नुपर्नेछ भने क्लबमा खासै भूमिका नरहेका खेलाडीहरुलाई बिक्री गर्न पर्नेछ। प्रशिक्षकको रुपमा प्रस्तुत गरिएको भोलि पल्टबाटै जाभीले आफ्नो काम शुरु गरिसकेका छन्।
प्रशिक्षणको काम अगाडी बढ्दै गर्दा उनले क्लबका खेलाडीहरुलाई नजिकबाट नियाल्नेछन्। त्यसपछि मात्रै उनले आफ्नो योजनामा कसले बढी प्राथमिकता पाउनेछन् भन्ने निर्क्यौल गर्नेछन्।
विभिन्न स्पेनिस मिडियाहरुका अनुसार जाभीको आगमन सँगै धेरै खेलाडीहरुको भविष्य अन्योलमा परेको छ। केहि खेलाडीहरुलाई जाभीको निर्णय अनुसार बार्सिलोनाले जनवरी ट्रान्सफर विन्डोमै बिक्री गर्नेछ।
आउने ट्रान्सफर विन्डोमै बिक्री गर्ने योजनामा रहेका खेलाडीहरुमा स्यामुएल उम्टिटी, लुक डी जोङ र नेतो मुरारा रहेका छन्। यी खेलाडीहरुलाई बिक्री गरेर आम्दानी भएको रकम खेलाडी किन्नमा प्रयोग गर्ने जाभीको योजना छ।