एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का युवा स्टार किलियन एम्बाप्पेको भविष्य अझै अन्योलमा छ। गएको ट्रान्सफर विन्डोमा लगभग रियल म्याड्रिड गैसकेका उनी पिएसजीमै बस्छन् अथवा रियल म्याड्रिड जान्छन् भन्ने बारे निर्णय गरिसकेका छन्।
गएको ट्रान्सफर विन्डोमा एम्बाप्पेले रियल म्याड्रिड जान धेरै नै बल गरेका थिए। उनले पिएसजीक अधिकारीहरुसंगको छलफलका क्रममा स्पष्ट रुपमा आफूले सम्झौता थप नगर्ने र क्लब छाड्ने बताएका थिए। एम्बाप्पेबाट ‘ग्रिन सिग्नल’ पाएपछि रियलले पिएसजीलाई विभिन्न प्रस्तावहरु पठाएको थियो। रियल २ सय मिलियन युरो सम्म तिर्न तयार हुँदा पनि पिएसजीले एम्बाप्पेलाई बिक्री गरेको थिएन।
केहि महिना अगाडी सम्म रियल जान मरिहत्ते गरिरहेका उनी अहिले भने क्रमिक रुपमा नयाँ विकल्पहरु बारे सोच्न थालेका छन्। रियल म्याड्रिडको पछिल्लो अवस्थापछि उनी आफ्नो पछिल्लो निर्णयमा परिवर्तन गर्ने मनस्थित बनाइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरु दावी गर्छन्।
बताइएअनुसार, एम्बाप्पे रियलका वर्तमान प्रशिक्षक कार्लो एन्सेलोटीको खेल शैलीलाई लिएर विश्वस्त हुन सकिरहेका छैनन्। एन्सेलोटीको खेल शैलीमा आफू फिट हुन नसक्ने एम्बाप्पेको बुझाई रहेको छ। जिनेदिन जिदानसँग काम गर्न धेरै नै इच्छुक रहेका एम्बाप्पे एन्सेलोटीसँग काम गर्न भने त्यति इच्छुक देखिँदैनन्।
क्लोपसँग काम गर्ने चाहना
एम्बाप्पेले विभिन्न अवसरहरुमा लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपसंग काम गर्ने चाहना रहेको बताइसकेका छन्। क्लोपसंग काम गर्न इच्छुक रहेका उनी लिभरपुल जान सक्ने सम्भावना रहेको समेत बताइन्छ। एक मिडियाले गरेको दावी अनुसार क्लोप रियल म्याड्रिडको प्रशिक्षक भए मात्रै रियल जानेछन्।