एजेन्सी – विश्वकप छनौटमा आज राति पोर्चुगलले आयरल्याण्डको सामना गर्दैछ। विश्वकपको युरोप छनौटको समूह ‘ए’मा रहेका पोर्चुगल र रिपब्लिक अफ आयरल्याण्डले एक अर्काको सामना गर्न लागेका हुन्। खेल नेपाली समय अनुसार १ बजेर ३० मिनेटमा शुरु हुनेछ।
आयरल्याण्डमा हुने खेलमा पोर्चुगल जित निकाल्दै विश्वकप छनौटको समूह विजेता बन्ने तरखरमा हुनेछ। पोर्चुगल ६ खेलमा ५ जित निकाल्दै समूहको दोस्रो स्थानमा रहेको छ। पोर्चुगलले अहिले सम्म १ खेलमा बराबरी खेलेको छ।
विश्वकप छनौटबाट आयरल्याण्ड भने बाहिरिसकेको छ। ६ खेल खेल्दा आयरल्याण्डले मात्रै १ खेलमा जित निकालेको छ। त्यस्तै आयरल्याण्डले २ खेल बराबरी खेल्दा ३ खेलमा हार बेहोरेको छ। आयरल्याण्ड समूहको चौंथो स्थानमा रहेको छ। आजको खेलमा जित हात पार्न सकेको खण्डमा पोर्चुगलले शिर्षस्थानमा रहेको सर्बियालाई पछि पार्नेछ।
आजको खेलमा अबैको ध्यान रोनाल्डो र आयरल्याण्डका गोलरक्षक गेभिन बाजुनु माथि हुनेछ। गेभिन तीनै युवा खेलाडी हुन्, जसले पोर्चुगलसँगको पछिल्लो भेटमा रोनाल्डोको पेनाल्टी रोकेका थिए। पछिल्लो भेटमा पोर्चुगलले आयरल्याण्डलाई २-० को गोल अन्तरले पराजित गरेको थियो।
खेल कुन च्यानलमा हेर्ने ?
पोर्चुगल र आयरल्याण्ड बीचको खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैन। खेल हेर्नको लागि विदेशी च्यानलहरुको भर पर्नुपर्नेछ। खेल भारतीय च्यानल सोनी टेन २ ले प्रतक्ष्य प्रशारण गर्नेछ।