विपक्षीको पोस्टमा जर्मनीको ९ गोल !

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा विश्वकपमा स्थान बनाइसकेको जर्मनीले सानदार जित दर्ता गरेको छ ।विश्वकपमा स्थान बनाइसकेको जर्मनीले १० खेलाडीमा समेटिएको लिचेस्टाइनमाथि ९–० को फराकिलो जित निकालेको हो ।

जर्मनीको सानदार जितमा लिरोए साने र थोमस मुलरले समान दुई गोल गर्दा इल्केए गुन्डोगान, मार्काे रिउस र रिड्ले बाकुले समान एक गोल गरे । दुई गोल उपहार पाएको थियो । पहिलो हाफमा चार तथा दोस्रो हाफमा पाँच गोल सम्भव भएको थियो ।

भोक्सवागन एरिना वल्फ्सवर्गमा बिहीबार राति भएको खेलको नवौं मिनेटमा नै लिचेस्टाइन १० खेलाडीमा समेटिएपछि त्यसको फाइदा जर्मनीले उठाउन सफल भएको थियो । जेन्स होफेर सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसमै प्राप्त पेनाल्टीमा इल्केए गुन्डोगानले गोल गर्दै जर्मनीको गोलको खाता खोले ।

२०औं मिनेटमा ड्यानियल कोउफमानले आत्मघाती गोल गरेपछि जर्मनीले खेलमा २–० को अग्रता लियो । २२औं मिनेटमा लिरोए सानेले गोल गर्दै जर्मनीको अग्रता तेब्बर पारे । त्यसको एक मिनेटपछि मार्काे रिउसले गोल गरेपछि जर्मनीले पहिलो हाफमा नै ४–० को आरामदायी अग्रता लिन सफल भयो ।

४९औं मिनेटमा लिरोए सानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे । ७६औं मिनेटमा थोमस मुलरले गोल गर्दै जर्मनीलाई ६–० ले अघि बढाए । ८०औं मिनेटमा रिड्ले बाकुले गोल गर्दै जर्मनीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ८६औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि आठौं गोल गरे ।

८९औं मिनेटमा म्याक्सिमिलियन गोप्पेलले आत्मघाती गोल गरेपछि जर्मनीले ९–० को फराकिलो जित निकाल्न सफल भयो । यो जितपछि समूह ‘जे’ मा शीर्षस्थानमा रहेको जर्मनीको ९ खेलबाट २४ अंक पुगेको छ पराजित लिचेस्टाइन १ अंक जोडेर पुछारमा रहेको छ ।

यही समूहको अर्काे खेलमा नर्थ म्यासेडोनियाले अर्मेनियालाई ५–० ले पराजित गरेको छ । नर्थ म्यासेडोनियाको जितमा इनिस बारदीले ह्याट्रिक पुरा गरे । एलेक्सान्दर ट्राजकोभ्स्की र मिलान रिस्टोभ्स्कीले समान एक गोल गरे ।

यो जितपछि नर्थ म्यासेडोनिया ९ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित अर्मेनिया १२ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

अर्काे खेलमा रोमानिया र आइसल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीपछि रोमानिया ९ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा झर्दा आइसल्यन्ड ९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित : शुक्रबार, कार्तिक २६, २०७८०७:५९

६ खेल बाँकी रहँदै ब्राजिल विश्वकपमा छनोट !