६ खेल बाँकी रहँदै ब्राजिल विश्वकपमा छनोट !

एजेन्सी – कोलम्वियामाथि जित निकाल्दै ब्राजिलले फिफा विश्वकप कतार २०२२ मा दक्षिण अमेरिकी क्षेत्रबाट स्थान पक्का गरेको छ । शुक्रबार बिहान भएको खेलमा कोलम्वियालाई १–० ले पराजित गर्दै ब्राजिलले दक्षिण अमेरिकी छनोटमा ६ खेल बाँकी रहँदै विश्वकपमा स्थान पक्का गरेको हो ।

साओपाउलोमा भएको खेलमा ब्राजिलको जितमा लुकास पाक्वेटाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७२औं मिनेटमा गोल गरेका थिए । खेलको सातौं मिनेटमा बारिओसको भली प्रहार क्रसबारबाट थोरै बाहिरिदा कोलम्विया अग्रता लिनबाट चुक्यो ।

४०औं मिनेटमा लुइस डियासको ३० यार्ड टाढाको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा कोलम्वियाले अग्रता लिन सकेन । पहिलो हाफमा ब्राजिलले कोलम्वियाको पोस्टमा कुनै पनि गतिलो आक्रमण बुन्न सकेन । दोस्रो हाफमा ब्राजिलले बल पोसेसन राख्दै पाहुना टोलीमाथि दवाव बढाएपनि कोलम्वियाको बलियो रक्षापङ्ति तोड्न हम्मे हम्मे परेको थियो ।

७२औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । मार्किन्हसको पासमा नेयमारको चलाखीपुर्ण र लोभलाग्दो वान टचलाई पाक्वेटाले पेनाल्टी बक्सभित्रबाट दुई डिफेन्डरबीचबाट गरेको प्रहार गोलरक्षक डेभिड ओस्पिनाको हातमा लाग्दै गोलमा परिणत भएको थियो । ८८औं मिनेटमा नेयमारको पासमा भिनिसियस जुनियरले अवसर पाएपनि गोल गर्न नसक्दा ब्राजिल अग्रता दोब्बर पार्नबाट चुक्यो ।

यो जितसँगै अपराजित ब्राजिलको १२ खेलबाट ३४ अंक पुगेको छ । ब्राजिलले ११ जित र एक बराबरीको नतिजा निकालेको छ । पराजित कोलम्विया १३ खेलबाट १६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । ब्राजिलले दोस्रो स्थानमा रहेको अर्जेन्टिनालाई ९ अंकले पछि पारेको छ । ब्राजिलले छनोटको शीर्ष चारमा रहेको टोलीलाई १८ अंकले पछि पारेको छ ।

अर्काे खेलमा इक्वेडरले भेनेजुएलालाई तथा चिलीले पाराग्वेलाई समान १–० ले पराजित गरेको छ । इक्वेडर २० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चिली १६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पाराग्वे १२ अंक जोडेर आठौं स्थानमा तथा भेनेजुएला ७ अंक जोडेर पुछारमा छ ।

प्रकाशित : शुक्रबार, कार्तिक २६, २०७८०८:५१

“रोनाल्डो भित्र्याउने सहि समय अहिले हो”