सुन १ सय ५४ दिन यताकै महँगो !

काठमाडौँ – तिहार पछि लगातार महँगो भैरहेको सुन झनै महँगो भएको छ। तिहार पछि बजार खुल्ने बितिकै बढ्न थालेको सुनको मूल्य लगातार बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९४ हजार ४ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ४ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९३ हजार ९ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

सुन ५ महिनाकै महँगो

पछिल्लो वृद्धिसँगै सुनको मूल्य लगभग ५ महिनाकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य जेठ अन्तिम हप्ता पछिकै महंगो हो। सुनको मूल्य जेठ २८ गते अथवा १ सय ५४ दिन यताकै महँगो रहेको महासंघले जनाएको छ। त्यस दिन छापावाला सुन ९४ हजार ५ सय र तेजाबी सुन ९४ हजार रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा चाँदीको मूल्य रु १५ ले बढेर १ हजार २ सय ८५ रुपैंयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित : शुक्रबार, कार्तिक २६, २०७८११:०५

दुबईमा पत्नी मधुसँग रोमान्टिक मुडमा देखिए राजेश हमाल-तस्विर सहित!