एजेन्सी – प्रिमियर लिगको नयाँ सिजनमा कम्जोर शुरुवात गरेको म्यानचेस्टर युनाइटेड अहिले लिगको छैठौं स्थानमा छ। युनाइटेडलाई सिजनका केहि खेलमा लगातार हार बेहोरेको आर्सनलले समेत पछि पारिसकेको छ। युनाइटेडले ११ खेल खेल्दा ५ खेलमा जित निकाल्दा ४ खेलमा हारेको छ भने बाँकी दुई खेलमा बराबरी खेलेको छ।
शिर्ष चार भित्र अटाउन युनाइटेडलाई गार्हो पर्ने संकेत देखा परिसकेको छ। शिर्ष चारमा पर्न नसकेको खण्डमा युनाइटेड च्याम्पियन्स लिगका लागि छनौट हुने छैन। यदि च्याम्पियन्स लिगमा छनौट नभएर युरोपा लिगका लागि छनौट भयो भने युनाइटेडका लागि राम्रो हुनेछैन। त्यस्तो भएको खण्डमा क्रिस्टियानो रोनाल्डोले युनाइटेड छाड्न सक्नेछन्। यति बेला युनाइटेडको कम्जोर प्रदर्शन कायमै रहे रोनाल्डोले युनाइटेड छाड्न सक्ने चर्चा चलिरहेको छ।
यदि रोनाल्डोले युनाइटेड छाडे भने कहाँ जान सक्लान् ?
पेरिस सेन्ट जर्मेन(पिएसजी)
युवा स्टार किलियन एम्बाप्पेको सम्झौता आउने जुनमा सकिँदै छ। पिएसजीसँग सम्झौता नवीकरण गर्न नमानिरहेका उनी रियल म्याड्रिड जान सक्छन्। यदि यस्तो भएको खण्डमा पिएसजी नयाँ स्ट्राइकरको खोजिमा हुनेछ। त्यस्तोमा पिएसजीले रोनाल्डोलाई भित्र्याउन सक्छ।
रियल म्याड्रिड
युनाइटेड फर्किनु भन्दा अगाडी नै रोनाल्डोले रियल फर्किने चाहना देखाएका थिए। तर रियलले रोनाल्डोलाई भित्र्याउन चाहेन। तर यसको अर्थ यो होइन कि रोनाल्डो रियल फर्किने सम्भावना सकिएको छ। रोनाल्डोले आफ्नो पारिश्रमिक घटाएको खण्डमा रियलले उनलाई भित्र्याउन सक्छ।
स्पोर्टीङ सीपी
युवा अवस्थामा रोनाल्डो पोर्चुगलको स्पोर्टीङ सीपीबाट फुटबल खेलेका थिए। रोनाल्डोकी आमा रोनाल्डो स्पोर्टीङ सीपीमा फिर्ता हुन् भन्ने चाहन्छिन्। यदि रोनाल्डो युनाइटेड छाड्ने निर्णय गर्छन् भने स्पोर्टीङ सीपी एक विकल्प हुन सक्छ।
इन्टर मियामी
सन् २०२० मा डेभिड बेकह्यामले क्लबको ब्रान्डलाई बढाउन लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो जस्ता स्टारहरुलाई ल्याउने आफ्नो चाहना रहेको बताएका थिए। यदि रोनाल्डो युनाइटेड छाड्छन् भने उनी इन्टर मियामी जान सक्छन्। धेरै जस्तो स्टार खेलाडीहरु उमेर ढल्कँदै गर्दा अमेरिकाको मजर सकर लिगमा जाने गरेका छन्। रोनाल्डोले पनि त्यसै गर्न सक्छन्।
बार्सिलोना
यो लगभग असम्भव जस्तो लाग्न सक्छ, तर फुटबलमा केहि पनि अस्वीकार गर्न सकिँदैन। बार्सिलोनामा एक अब्बल स्ट्राइकरको अभाव छ। यस्तोमा रोनाल्डोका लागि बार्सिलोना एक राम्रो गन्तव हुन सक्छ। बार्सिलोनाका पूर्व निर्देशक टोनी फ्रेक्साको भनाईलाई मान्ने हो भने रोनाल्डोलाई बार्सिलोनामा अनुबन्ध गर्न सम्भव छ।