लियोनेल मेस्सी २०२१ ब्यालोन डी’ओर विजेताको रूपमा पहिले नै पुष्टि भइसकेको र उक्त खबरबाट मेस्सी आफैं पनि सचेत रह्रेको विभिन्न सञ्चार माध्यमले जनाएका छन्।

आरटिपी स्पोर्ट्सका अनुसार यसै महिनाको २९ तारिखमा फ्रान्सको पेरिसमा हुने एक समारोहमा मेस्सी आफ्नो करियरको कीर्तिमानी सातौं पटक ब्यालोन डी’ ओर अवार्डको विजेता घोषित हुने दाबी गरेको छ। ३४ वर्षीय स्ट्राइकरले, जसले कथित रूपमा विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कारको लागि दीर्घकालीन प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो, एर्लिंग हालान्ड र रोबर्ट लेवान्डोस्कीलाई पछाडी पारेका छन्, फ्रान्स फुटबल म्यागजिनसँग परम्परागत अन्तर्वार्ता समेत दिइसकेको बताइएको छ।
यदि यस्ता विभिन्न रिपोर्टहरुलाई मान्ने हो भने यस वर्षको गोल्डेन बल मेस्सीको सातौँ हुनेछ, जसले उनलाई चिर-प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डो भन्दा २ गोल्डन बल अगाडी लाग्नेछ भने तीन पटकका विजेता मिचेल प्लाटिनी, जोहान क्रुएफ र मार्को भान बास्टेन भन्दा चार गोल्डेन बल अगाडी लाग्नेछ।

२०२१ मेस्सीका लागि निकै उत्कृष्ट रहेको छ। क्लब स्तरमा लिग उपाधि जित्न नसकेपनि व्यक्तिगत रूपमा भने उनी निकै उत्कृष्ट रहेका थिए। लालिगामा गत सिजन ३० गोल गरेका अर्जेन्टिनी कप्तान प्रतियोगिताको उच्च गोलकर्ता रहेका थिए। यसका साथै बार्सिलोनासँग उनले कोपा डेल रे उपाधि पनि जितेका थिए।
क्लब स्तरमा गत सिजन त्यति उत्कृष्ट नरहेपनि अर्जेन्टिनाका लागि भने गत समर मेस्सीको करियर कै सबैभन्दा सुखद रह्यो। मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई २८ वर्षपछि प्रमुख प्रतियोगिताको उपाधि जिताउन सफल भए। जस क्रममा उनी प्रतियोगिताको उच्च गोलकर्ता र उच्च असिस्टकर्ता बन्नुका साथै सर्वश्रेष्ठ खेलाडी समेत घोषित भएका थिए।

