काठमाडौं । त्रिभूवन विश्वविद्यालयमा स्नातकोत्तरका विद्यार्थीले बुझाएका शोधपत्र कवाडीलाई बेचिने गरेको खुलासा भएको छ । शोधपत्र प्रतिकिलो १२ रुपैंयाका दरले कवाडीलाई बेचिएको विषयमा कतिपय सरोकारवालाले ‘ज्ञानलाई कवाडीमा बेचिएको’ भनेका छन् । शुक्रबार गोरखापत्रका खस भाषाका संयोजक जगत उपाध्याय त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका थिए । ट्रकमा स्नातकोत्तरको सोधपत्र (थेसिस) लोड गरिरहेको दृश्य उनले देखे । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
‘लोड गर्दै गरेका कामदाराई कहाँ लान लागेको भनेर सोधेको थिएँ । उनीहरूले कुरा लुकाए । राख्नका लागि हो भने,’ उपाध्याय भन्छन्, ‘त्रिविका महत्त्वपूर्ण डकुमेन्ट धुल्याउन गैँडाकोट पठाउने गरिएको छ । जलाउन लगियो या धुल्याउन लगियो, त्यो थाहा भएन ।’ त्यसपछि हामीले परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई सोध्यौँ, ‘त्रिविले थेसिसलाई कहाँ राख्छ ?’ ‘ठाउँको अभाव भएपछि गोप्य रूपमा धुल्याउने सहमतिमा कबाडीमा बेच्ने गरिएको छ । प्रतिकिलो १२ रुपैयाँमा ब्रिकी हुन्छ,’ उनी भन्छन्, ‘२०५६ सालदेखि नै कबाडीलाई बेच्ने गरिएको हो । आगामी वर्षबाट किलोको १५ रुपैयाँ बनाउने योजना छ ।’
परीक्षा नियन्त्रण कार्यालयको मात्र डिस्पोज गर्ने गरिएको उनले बताए । ‘विद्यार्थीले एक प्रति परीक्षा नियन्त्रण कार्यालयमा, एक प्रति केन्द्रीय पुस्तकालयमा र अर्काे एक प्रति क्याम्पसमा बुझाएका हुन्छन् । हाम्रो कार्यालयको मात्र डिस्पोज गर्ने हो, अरु ठाउँको रहन्छ,’ उनी भन्छन् ।
राष्ट्रिय योजना आयोग र भाषा आयोगलाई आवश्यक पर्ने थेसिस दिइने गरेको जोशीले बताए । ‘लिने मान्छे नभएर हो । कसैले सदुपयोग गर्छ भने हामी दिन्छौँ,’ उनी भन्छन्, ‘लिन कोही नआएकाले डिस्पोज गर्नुपरेको हो ।’
पहिले खाल्डो खनेर जलाउने गरिएको थियो, अहिले ब्रिकी गरेर त्रिविलाई पैसा आउने गरेको उनको भनाइ छ । ‘ट्रकमा सिल गरेर पठाउने गरिएको छ । डिस्पोज गर्न हाम्रो कर्मचारी पनि गएको हुन्छ,’ उनी भन्छन्, ‘कागज कारखानालाई ब्रिकी गर्ने हो । कागज पूरै च्यातेर पानीमा हालेर लेदो बनाएर अर्को पेपर बनाउन प्रयोग हुन्छ ।’ डिन कार्यालयहरूमा पनि थेसिसको चाङ रहेको बताउँछन्, परीक्षा नियन्त्रक जोशी । ‘डिन कार्यालयहरूमा चाङ लागेको छ । डिन कार्यालयहरूले पनि अब बिक्री गर्छन्,’ उनी भन्छन् ।