एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत छनोट चरणको समूहमा दोस्रो स्थानमा आएपछि पोर्चुगलले सिधै विश्वकपमा छनोट हुन सकेन । सर्बियासँग अन्तिम खेलमा पराजित भएपछि अब पोर्चुगलले प्लेअफ चरणबाट विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछ ।
यसपटक देखि युरोपेली राष्ट्रहरुबाट प्लेअफमार्फत छनोट हुने प्रक्रिया परिवर्तन भएको छ । विगतमा दुई लेगमा हुने खेलहरु यसपटक भने सेमिफाइनल र फाइनल गरेर दुई चरणको १-१ खेलमा विभाजन गरिएको छ । प्लेअफ अन्तर्गतका खेलहरु अर्को वर्ष मार्च महिनामा हुनेछन् ।
पोर्चुगलसँगै अन्य समूहका दोस्रो स्थान हासिल गर्ने १० टोली र नेसन्स लिगको वरीयता अनुसार २ टोलीले प्लेअफमा खेल्नेछन् । प्लेअफको ड्र नोभेम्बर २६ मा हुनेछ । प्लेअफ चरणबाट तीन टोलीले विश्वकपमा स्थान बनाउनेछन् । ड्र मार्फत १२ टोलीलाई विभिन्न तीन समूहमा राखिनेछ । पोर्चुगलले अब दुई खेल जिते विश्वकपमा छनोट हुनेछ ।
पोर्चुगलसँगै स्विडेनले पनि प्लेअफ चरण खेल्ने पक्का भइसकेको छ । यस्तै स्कटल्यान्ड, नर्थ म्यासेडोनिया र रुसले पनि प्लेअफमा स्थान पक्का गरेका छन् । अन्य समूहको दोस्रो स्थानको छिनोफानो हुन भने केहि दिन लाग्नेछ ।
अहिलेको अवस्थामा वेल्स, फिनल्यान्ड, टर्की, पोल्यान्ड र स्विटजरल्यान्ड दोस्रो स्थानमा छन् । नतिजा आफू अनुकुल नआएको खण्डमा नेदरल्यान्ड्स र इटाली पनि प्लेअफमा झर्ने सम्भावना छ । नेसन्स लिगको वरीयताबाट अहिलेको अवस्थामा अष्ट्रिया र चेक रिपब्लिक भने अघि बढ्ने समीकरण छ ।
फिफा विश्वकप २०२२ कतार नोभेम्बर २१ देखि डिसेम्बर २१ सम्म हुनेछ । विश्वकपकै लागि भनेर क्लब फुटबल नोभेम्बर १२ देखि रोकिनेछन् । डिसेम्बर २६ बाट सिजन सुचारु हुनेछ । अर्को सिजन मे २८ सम्म संचालन हुनेछ ।

