एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले लियोनेल मेस्सी बार्सिलोना फर्किन सक्ने बताएका छन्। क्लबका पूर्व ब्राजिली भेट्रान डिफेन्डर डेनी आल्भेसलाई क्लबमा स्वागत गर्नेक्रममा लापोर्टाले बार्सिलोनामा मेस्सी र आन्देस इनिएस्टा दुवै फर्किन सक्ने बताएका हुन्।
मेस्सी र इनिएस्टाका बारेमा बोल्दै लापोर्टाले मेस्सी र इनिएस्टा फर्किदैनन् भनेर भन्न नसकिने बताए। लापोर्टाका अनुसार मेस्सी र इनिएस्टाको फिर्तीलाई अस्विकार गर्न सकिँदैन।
“म त्यसलाई अस्विकार गर्दिन।”,मेस्सी र इनिएस्टाको फिर्ती बारे चर्चा गर्दै लापोर्टाले भने,”डेनी फिर्ता भए भने मेस्सी र इनिएस्टा पनि फिर्ता हुने कुरालाई अस्विकार गर्न सकिँदैन।”
मेस्सी र इनिएस्टा क्लबलाई उत्कृष्ट बनाएका खेलाडीहरु रहेको लापोर्टाले बताए। दुवै खेलाडी अहिले पनि खेलिरहेका कारण भविष्यमा के हुन्छ भने अहिले नै भन्न नसकिने लापोर्टा बताउँछन्।
उनले भने,”मेस्सी र इनिएस्टा शानदार छन्। यिनकै कारण क्लब उत्कृष्ट भएको थियो। अहिले पनि सक्रिय भएर फुटबल खेलिरहेका कारण भविष्यमा के हुन्छ भन्न सकिँदैन। अहिले त उनीहरु अन्य क्लबमा अनुबन्धित छन्, तर भविष्यमा के हुन्छ कसलाई के थाहा ?”
त्यस्तै लापोर्टाले क्लबको अवस्थालाई बुझेर फिर्ता भएकोमा आल्भेसलाई धन्यवाद दिए। आल्भेस क्लबलाई सहयोग पुर्याउन आएको लापोर्टाको भनाई छ।
“क्लबको अवस्थालाई बुझेर आर्थिक प्रयास गरेकोमा म उनलाई धन्यवाद दिन्छु। हामी यो अवस्थालाई उल्टाउन जाँदैछौं। डेनीले जुन प्रयास गरेका छन्, त्यसको मा मुक्तकण्ठले प्रशंसा गर्छु। “,लापोर्टाले भने।