फुट्यो कोइराला परिवार !

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनमा एकमात्र उमेदवार हुने कोइराला परिवारको सहमति सार्वजनिक हुन नभ्याउँदै भाँडिएकोे छ । डा. शशांक र शेखरबीच भएको सहमतिमा सुजाता कोइरालाले पनि समर्थन जनाउने कार्यक्रम तय भएपछि बुधबार बिहान एकाएक सहमति सार्वजनिक हुन रोकिएको छ । सहमति कसरी कार्यान्वयन हुन रोकियो भन्ने पाटो भने रहस्यमै छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

स्रोतका अनुसार मंगलबार साँझ डा. शशांक कोइराला आफैँले फोन गरेर शेखर निवास बसुन्धारा गएका थिए । उनीहरुबीच लामो पारिवारिकसँगै राजनीतिक विषयमा कुराकानी भएको थियो । कुराकानीमा डा. शेखर कोइरालाले पार्टी नेतृत्व कसले लिन्छ भन्ने आधारमा पार्टीको भविश्य तय हुने भन्दै कांग्रेस पार्टीको भविश्यका विषयमा कोइराला परिवारले विशेष चिन्ता गर्नु आवश्यक भएको बताएका थिए ।

दुईजनाबीच कुरा हुँदा शशांक कोइरालाले विगतमा पनि आफू केन्द्रीय सदस्य मात्र लड्न तयार भए पनि समर्थकहरुकै आग्रहमा महामन्त्री बनेको भन्दै महामन्त्री भएपछि कार्यकर्ता भेटघाट र पार्टीका काममा पर्याप्त समय दिन नसकेको बताएका थिए । उनले त्यति हुँदा हुँदै पनि कार्यकर्ताको असाध्यै प्रेम आफूप्रति देखिएको भन्दै उनीहरुको सम्मान राखेर आफू अघि बढ्ने पक्षमा रहेको बताएका थिए । त्यसपछि डा. शेखरले राजनीतिक नेतृत्वले सुखसयलभन्दा जनताका र कार्यकर्ताको भावनाअनुसार चल्न सक्नुपर्ने भन्दै आफू पाँच वर्षदेखि जनताका घरघरमा पुगेर उनीहरुको भावना बुझिरहेको बताएका थिए ।

उनले कार्यकर्ताले नेतृत्वमा पहिलो पुस्ताको विकल्प खोजिरहेको भन्दै पहिलो पुस्तालाई सम्मान दिँदै बिदा गर्न आफ्ना तर्फबाट पनि बलियो प्रयास आवश्यक भएको बताएका थिए । ‘मैले देशव्यापी रुपमा कार्यकर्तासँग भेटघाट र कुराकानी गरेको छु, शेरबहादुरजीसँग हिँडेका थुप्रै साथीहरु अघि बढ्नुस् हामी दोस्रो पुस्तामा जान चाहन्छौँ र इमान्दार नेतृत्वका पक्षमा छौँ भन्नुभएको छ,’ शेखरको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तिमीप्रति शेरबहादुरजीसँग नरम बनेको, शेरबहादुरजीका नराम्रा काम रोक्न नसकेको जस्ता टिप्पणीहरु छन् । यति हुँदा हुँदै पनि तिमीप्रति नेता कार्यकर्ताहरुको अगाध प्रेम छ । त्यो प्रेमको सम्मान राख । यसपटक सभापतिमा मलाई समर्थन गर ।’

प्रकाशित : बिहिबार, मङि्सर ०२, २०७८०८:५५

डिसेम्बरपछि एमसिसी फिर्ता !