एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले गोल ५० को अवार्ड जितेका छन् । मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड हात पारेको हो ।
भोटिङको अन्तिम दिनसम्म रोनाल्डो अघि रहेपनि २४ घन्टाको नतिजामा मेस्सीले रोनाल्डोलाई थोरै मत अन्तरले पछि पारेको हो । यो सँगै मेस्सीले रोनाल्डोको कीर्तिमानलाई बराबरी गरेका छन् । रोनाल्डो र मेस्सीले समान ५–५ पटक यो अवार्ड जितेका छन् ।
भोटिङ पोल आयोजना गएको विश्व प्रसिद्ध खेल सञ्चार माध्यम गोलका अनुसार लगभग १ करोड ४० लाख मानिसले आफ्नो भोट प्रदान गरेका थिए। यति ठूलो सङ्ख्यामा गरिएको भोटमा रोनाल्डो र मेस्सी बीच निकै झिनो अन्तर रहेको गोलले बताएको छ। दुई सुपरस्टार खेलाडी बीच प्रतिशतमा भोट गिन्ती गर्ने हो भने दुई खेलाडी बीच झरेको भोट मध्ये मेस्सीको पक्षमा ५०.०९% र रोनाल्डोको पक्षमा ४९.९१% भोट रहेको थियो।
गोलले सार्वजिक गरेको एक पोस्ट अनुसार १ करोड ४० लाख भोट आउँदा पोर्चुगिज कप्तान रोनाल्डो र अर्जेन्टिनी कप्तान मेस्सी बीच मात्र २४ भोटको अन्तर रहेको छ। मेस्सीले अन्तिम समयमा पासा पल्टाउँदै रोनाल्डोलाई मात्र २४ भोटले पछि पारेका हुन्।
सार्वजनिक सूचीमा जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले तेस्रो तथा इंग्लिस क्लब लिभरपुलका इजिप्टियन फरवार्ड मोहम्मद सलाहले चौथो स्थान हासिल गरे । फ्रान्स तथा पीएसजीका केलियन एमबाप्पे पाँचौ स्थानमा रहे । त्यस्तै, एर्लिङ हालान्ड, करिम बेन्जेमा, एङ्गोलो कान्टे, केभिन डि ब्रुयन र नेयमार शीर्ष १० मा रहे ।

