एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी पेरिस सेन्ट जर्मेन(पिएसजी) गएपछि फ्रेन्च लिग वानको विश्वव्यापी माग ह्वात्तै बढेर गएको छ। मेस्सी पिएसजी गएपछि लिग वानको माग धेरै देशहरुमा बढेको हो।
लिग वान हेर्न चाहने दर्शकहरुको संख्या बढ्न थालेसँगै विश्वका धेरै देशहरुमा लिग वानको प्रशारण शुरु भएको छ। फ्रेन्च मिडियाहरुका अनुसार लिग वानको प्रशारण विश्वका २ सय देशमा हुन थालेको छ।
मेस्सी फ्रान्स गएपछि मात्रै लिग वानको आधिकारिक प्रशारण वितरण टेलिभिजन बेइन स्पोर्ट्सले दर्जनौं अन्तर्राष्ट्रिय प्रसारण सम्झौतामा हस्ताक्षर गरिसकेको छ। जसले लिग वानलाई दुई सय देशमा पुर्याएको बताइन्छ।
मेस्सी पिएसजी पुगेपछि लिग वान माथि आकर्षण बढेसँगै बेइन स्पोर्ट्सले धेरै टेलिभिजनहरुलाई प्रसारण गर्ने अधिकार दिसकेको छ। बेइन स्पोर्ट्स लिग वानको अन्तर्राष्ट्रिय प्रसारणका लागि वार्षिक ७५ मिलियन युरो तिर्छ।
मेस्सीको आगमन पछि बेल्जियम, भारत र भियतनाम जस्ता देशहरुका टेलिभिजनहरुले पनि लिग वान प्रशारण गर्ने अधिकारका लागि हस्ताक्षर गरिसकेका छन्। स्वीडेन र नर्वे पनि लिग वानको प्रसारण गर्न आगाडी आएका छन्। त्यस्तै स्पेनमा पनि लिग वानको आकर्षण बढेको छ।
जहाँसम्म दर्शकको तथ्याङ्कको सवाल छ, अक्टोबर २४ मा मार्सेली विरुद्ध पीएसजीको खेलमा उत्तर अफ्रिका र मध्य पूर्वमा मात्र ७६ प्रतिशतभन्दा बढी वृद्धि देखिएको छ।