एजेन्सी – जाभी हर्नान्डेजले आज राति बार्सिलोनाको प्रशिक्षकको रुपमा डेब्यु गर्दैछन्। रोनाल्ड कोम्यान बर्स्खास्त भएपछि बार्सिलोनाको नयाँ प्रशिक्षकको रुपमा नियुक्त भएका जाभीले अर्को क्याटलान क्लब इस्पानयोल विरुद्ध डेब्यु गर्ने भएका हुन्।
क्याटलान डर्बी नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमा शुरु हुनेछ। बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेलमा जाभीले के कस्तो रणनीतिक कौशलता देखाउँछन् भन्नेमा सबैको चासो रहनेछ।
जारी सिजनमा बार्सिलोना धेरै नै खराब प्रदर्शन गरिरहेको छ। सिजनका १२ खेल खेलिसक्दा बार्सिलोनाले मात्रै ४ जित निकालेको छ भने ३ खेलमा हारेको छ। बार्सिलोना अहिले १७ अंक जोडेर लिगको ९ औं स्थानमा छ।
त्यस्तै उता इस्पानयोलले भने नयाँ सिजन शुरु भएयता १३ खेल खेलिसकेको छ। जसमा ४ जित र ४ हार सँगै ५ बराबरी खेलेर १४ अंक जोडेको छ। इस्पानयोल लालिगाको ११ औं स्थानमा छ।
जाभीको रोजाईको को-को ?
बार्सिलोनाले शनिबार इस्पानियोल विरुद्ध क्याटलान डर्बीका लागि २३ खेलाडीको स्क्वाड सार्वजनिक गरेको छ। चोटिल अवस्थामा रहेका जेरार्ड पिके, सर्जी रोबर्टो, एरिक गार्सिया र निको गोन्जालेज निको भएर बार्सिलोनाको टोलीमा फर्किएका छन्।

जाभीले बार्सिलोना बीका १७ वर्षीय फरवार्ड इलियास अखोमाचलाई पनि इस्पानियोलसँग खेल्ने टोलीमा समावेश गरेका छन्। सेगिनो डेस्ट, उस्माने डेम्बेले, अन्सु फाती, मार्टिन ब्रेथवेट, पेड्रि र सर्जियो अगुएरो भने चोटका कारण बार्सिलोनाको स्क्वाड बाहिर छन्।

