अन्ततः मेस्सीले खोले खाता, पिएसजीको जित !

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फ्रेन्च लिग वानमा बार्हौं जित दर्ता गरेको छ। सिजनको शुरुवात देखि नै लगातार जित्दै आएको पिएसजीले शनिबार राति बार्हौं जित दर्ता गरेको हो।

घरेलु मैदानमा बार्हौं जित दर्ता गर्नेक्रममा पिएसजीले नान्टेसलाई ३-१ को गोल अन्तरले पराजित गर्यो। पिएसजीलाई जित दिलाउने क्रममा किलियन एम्बाप्पे र लियोनेल मेस्सीले गोल गरे। नान्टेसका डेनिस अप्पियाले आत्मघाती गोल गर्दा १ गोल भने पिएसजीले उपहारमा पाएको थियो। नान्टेसका लागि एक मात्र गोल रान्डल कोलो मुआनीले गरेका थिए।

खेलको शुरुवाती समयबाट पिएसजीले बलमा राम्रो पकड बनाएको थियो। बलमा पिएसजीको ६७ प्रतिशत पकड रह्यो। खेलभर पिएसजीको तर्फबाट १४ प्रहार भए। जसमा ७ प्रहार टार्गेटमा थिए। त्यस्तै नान्टेसका१२ प्रहार गर्दा ६ टार्गेटमा थिए।

खेलको दोस्रो मिनेटमै एम्बाप्पेले पिएसजीलाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफमा कुनै पनि टोलीबाट गोल हुन सकेन। खेलको ६५ औं मिनेटमा केलर नाभासले रेड कार्ड बेहोरे। पिएसजी १० खेलाडीमा सिमित भएपछि ७६ औं मिनेटमा नान्टेसले बराबरी गोल फर्कायो। उक्त गोल रान्डल कोलो मुआनीले गरेका थिए। ८१ औं मिनेटमा अप्पियाले आत्मघाती गोल गरेसँगै पिएसजी २-१ ले अगाडी भयो।

त्यस्तै खेलको अन्तिम समयमा मेस्सीले गोल गरे। ८७ औं मिनेटमा भएको गोल मेस्सीको लिग वान डेब्यु गोल बन्यो। यससँगै मेस्सीले लिग वानमा खाता खोल्न सफल भएका छन्। उक्त गोलका लागि एम्बाप्पेले असिस्ट दिएका थिए।

शनिबारको जितसँगै पिएसजीले ३७ अंक जोडेको छ। १४ खेलमा मात्रै १ बराबरी र १ हर बेहोरेको पिएसजी शिर्ष स्थानमा यथावत छ। त्यस्तै नान्टेस भने १८ अंक सहित लिगको ११ औं स्थानमा छ।

प्रकाशित : आइतबार, मङि्सर ०५, २०७८०१:५७

युनाइटेडको लज्जासपद हारपछि ओले आउट !