एजेन्सी – जिनेदिन जिदान रियल म्याड्रिड छाडेपछि आफ्नो परिवारसँग समय व्यतित गरिरहेका छन्। रियलको प्रशिक्षक हुँदा परिवारलाई खुलेर समय दिन नपाएका उनी अहिले आनन्दसँग बसिरहेका छन्।
रियल म्याड्रिड छाडेर खालि बसेपछि जिदान कता जाने हुन् भन्नेमा सबैको चासो छ। गएको केहि समय देखि जिदानलाई धेरै क्लबहरुले लगातार सम्पर्क गरिरहेका छन्। बीबीसीका अनुसार, प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले जिदानलाई सम्पर्क गरेको थियो। तर जिदानले अस्विकार गरे।
जिदानले अस्विकार गरेपछि युनाइटेडको ध्यान पेरिस सेन्ट जर्मेन(पिएसजी)का प्रशिक्षक माउरिसियो पोचेटिनो तर्फ केन्द्रित भएको छ। पोचेटिनो पिएसजीमा लामो समय रहन नचाहेका कारण युनाइटेडले उनी माथि नजर लगाएको हो।
जिदान पिएसजीमा ?
पछिल्लो चर्चाहरुलाई मान्ने हो भने जिदानले पोचेटिनोलाई प्रतिस्थापन गर्न सक्छन्। पोचेटिनो युनाइटेड गएको खण्डमा पिएसजीलाई जिदानले सम्हाल्न सक्ने धेरैको अनुमान छ। विगतका विभिन्न समयमा पिएसजीले जिदानलाई क्लबको जिम्मेवारी दिने प्रयास गरिसकेको छ। तर, यस पटक जसरी पनि मनाउने तयारी पिएसजीको छ।
रियललाई झड्का ?
लियोनेल मेस्सी, नेयमार र एम्बाप्पे जस्ता स्टारले भरिएको पिएसजीको जिम्मेवारी सम्हालेको खण्डमा रियल म्याड्रिडलाई भने झड्का लाग्नेछ। जिदान पिएसजीको प्रशिक्षक बन्न तयार भएको खण्डमा एम्बाप्पे केहि सिजन पिएसजीमै रहनेछन्।
एम्बाप्पे गएको केहि सिजन देखि रियलको मुख्य टार्गेटको रुपमा रहेका छन्। एम्बाप्पेलाई जुनै पनि हालतमा भित्र्याउन रियलले चाहेको छ। तर जिदान पिएसजीको प्रशिक्षक नियुक्त भएको खण्डमा भने रियलको योजनामा ठूलो धक्का लाग्नेछ।
एम्बाप्पे रियल म्याड्रिडका नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीसँग काम गर्न अनिच्छुक रहेको समेत बताइन्छ। त्यस्तोमा एम्बाप्पे रियल नगई पिएसजीमै रहनेछन्।