एजेन्सी – इन्टरनेसनल ब्रेक पछि च्याम्पियन्स लिगका खेल पुनः सुचारु भएका छन्। च्याम्पियन्स लिगमा आज उक्रेनियन क्लब डाइनामो किभले जर्मन च्याम्पियन बायर्न म्युनिखको सामना गर्दैछ। डाइनामो किभले घरेलु मैदानमा जर्मन च्याम्पियनको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार आज राति ११ बजेर ३० मिनेटमा शुरु हुनेछ।
गएको केहि सिजन देखि उच्च प्रदर्शन गरिरहेको बायर्नले आफ्नो लयलाई कायमै राखेको छ। घरेलु मैदान भएपनि आजको खेलमा डाइनामो किभ ‘अन्डरडग’को रुपमा मैदानमा उत्रनेछ। पछिल्लो पटक यी दुई क्लब बीच च्याम्पियन्स लिगमा भेट हुँदा बायर्न ५-० को गोल अन्तरले विजयी भएको थियो।
बायर्न र डाइनामो किभ च्याम्पियन्स लिगको समूह ‘इ’मा रहेका छन्। बायर्न समूहको शिर्ष स्थानमा छ भने डाइनामो किभ समूहको पुच्छरमा रहेको छ। बायर्नले जारी च्याम्पियन्स लिगका चार खेल खेल्दा चारै खेलमा जित निकालेको छ।
समूहका सबै टोली बायर्नसँग पराजित भैसकेका छन् भने बायर्न च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गरिसकेको छ। त्यस्तै डाइनामो किभ भने समूहचरणबाट बाहिरिसकेको छ। बायर्नले जारी सिजनमा ४ खेल खेल्दा विपक्षीको पोस्टमा १७ गोल गरिसकेको छ।
खेल कुन च्यानलमा हेर्ने ?
च्याम्पियन्सका खेलहरु नेपालका कुनै पनि च्यानलले प्रशारण गर्दैनन्। आज हुने डाइनामो किभ र बायर्न बीचको खेल हेर्न भारतीय च्यानलहरु भर पर्नुपर्नेछ। खेल सोनी सिक्स ले प्रतक्ष्य प्रशारण गर्नेछ।

