एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार फरवार्ड लियोनेल मेस्सीले पिएसजी बलियो टोलीको रुपमा निर्माण भैरहेको बताएका छन्। स्पेनिस मिडिया मार्कालाई अन्तर्वार्ता दिनेक्रममा उत्कृष्ट खेलाडीहरुले भरिएको पिएसजी सुदृढ र बलियो हुने क्रममा रहेको बताएका हुन्।
नेयमार र एम्बाप्पे जस्ता खेलाडीहरुको उपस्थितले पिएसजी च्याम्पियन्स लिग जित्ने दौडमा छ भनेर सोच्न मिल्छ भन्दै गरिएको प्रश्नको जवाफ दिनेक्रममा मेस्सीले पिएसजी च्याम्पियन्स लिगको दाबेदार भएको बताए।
“सबै भन्छन् हामी च्याम्पियन्स लिगका मुख दाबेदार हौँ। र म त्यसलाई अस्विकार पनि गर्दिन। तर वास्तवमै बलियो टोली बन्न टीममा धेरै चिजको आवश्यकता छ।”,मेस्सीले भने। टीममा धेरै राम्रा खेलाडीहरु रहेको भएपनि एक टीमको रुपमा आफूहरु विकसित हुँदै गरेको मेस्सीले बताए। उनले भने कि टीममा भएका खेलाडीहरु बीच तालमेल मिल्दै गएमा धेरै कुरा हुनेछ।
मेस्सीले अन्तर्वार्ताकै क्रममा आफूहरु मात्र च्याम्पियन्स लिगको दाबेदार नभएको बताए। उनले भने,”च्याम्पियन्स लिग एक धेरै कठिन प्रतियोगिता हो। कठिन भएकै कारण यो सुन्दर र विशेष छ। च्याम्पियन्स लिगमा उत्कृष्ट भन्दा उत्कृष्ट टोलीहरु हुने हुँदा जित्न सहज हुँदैन। यो नै च्याम्पियन्स लिगको सुन्दर पक्ष हो।”
उनले सन् २०१९ को च्याम्पियन्स लिग विजेता लिभरपुल सहित विभिन्न क्लबहरु दाबेदार देखिएको बताए। लिभरपुल एकपटक पुनः च्याम्पियन्स लिग जित्ने लयमा देखिएको मेस्सीको भनाई छ। उनका अनुसार लिभरपुलका आलावा म्यानचेस्टर सिटी, बायर्न म्युनिख, रियल मड्रिड, एथ्लेटिको मड्रिड लगायत पनि च्याम्पियन्स लिग जित्ने दौडमा छन्।
“अहिले लिभरपुलले राम्रो प्रदर्शन गरिरहेको छ। उनीहरु पछिल्लो पटक च्याम्पियन्स लिग जित्दाको जस्तै उत्कृष्ट खेलिरहेका छन्। त्यसपछि म्यानचेस्टर सिटी, बायर्न म्युनिख, रियल मड्रिड, एथ्लेटिको मड्रिड पनि कम छैनन्।”,मेस्सीले भने।
सन् २०१९ मा लिभरपुलले च्याम्पियन्स लिग जितेको थियो। सेमिफाइनलमा बार्सिलोना विरुद्ध उत्कृष्ट पुनरागमन गरेको लिभरपुलले पछि गएर टोटेनहामलाई हराएर उपाधि उचालेको थियो। लिभरपुलले बार्सिलोनालाई पराजित गर्दा मेस्सी बार्सिलोनामा थिए।