एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार लियोनेल मेस्सीले म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोको खुलेर प्रशंसा गरेका छन्। स्पेनिस मिडिया मार्कालाई अन्तर्वार्ता दिनेक्रममा मेस्सीले खुलेर रोनाल्डोको प्रशंसा गरेका हुन्।
युभेन्टस छाडेर यसै सिजन युनाइटेड पुग्ने बितिकै रोनाल्डोले प्रभाव पार्न सकेको मेस्सीले बताए। रोनाल्डोले पहिला युनाइटेडका लागि खेलिसकेको भएपनि फेरिएको परिस्थितमा समेत रोनाल्डो युनाइटेडमा छिट्टै घुलमिल भएको मेस्सीको भनाई छ।
“युनाइटेड उत्कृष्ट खेलाडी भएको निकै बलियो टोली हो। क्रिस्टियानो युनाइटेडका लागि नौलो खेलाडी नभएपनि परिस्थित फेरिएको छ। फेरिएको माहोलमा पनि अनुकूलनका लागि उनलाई समय लागेन।”,मेस्सीले भने।
प्रिमियर लिगमा युनाइटेड संघर्षरत देखिएपनि आउने समयमा स्थितिमा परिवर्तन आउने मेस्सीले बताए। मेस्सीका अनुसार डिसेम्बर पछि युनाइटेड गुज्रिरहेको अवस्थामा सुधार आउन सक्नेछ।
रोनाल्डो र मेस्सीले यसै सिजन क्लब परिवर्तन गरेका हुन्। मेस्सी बार्सिलोना छाडेर पिएसजी पुग्दा रोनाल्डो युभेन्टस छाडेर युनाइटेड पुगे। युनाइटेड पुगेयता रोनाल्डोले १५ खेलमा १० गोल गरिसकेका छन्। त्यस्तै मेस्सीले भने ९ खेलमा ३ गोल मात्रै गरेका छन्।
च्याम्पियन्स लिगमा ३ खेल खेल्दा तीनै गोल गरेपनि मेस्सीले ६ खेलमा मात्रै १ गोल गरेका छन्। मेस्सीले फ्रेन्च लिग वान डेब्यु गोल केहि दिन अगाडी मात्रै गरेका हुन्।

