एजेन्सी – म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा गोलको सिलसिला जारी राखेका छन्। प्रिमियर लिगमा गोल गर्न नसकेपनि रोनाल्डोले च्याम्पियन्स लिगमा गोलको शृंखला कायमै राखेका हुन्।
मंगलबार राति स्पेनिस क्लब भिल्लारियल विरुद्ध रोनाल्डोले गोल गरे। युनाइटेडले घरेलु टोली भिल्लारियललाई २–० ले पराजित गर्नेक्रममा रोनाल्डोले गोल गरेका थिए। बलमा राम्रो पकड बनाएको भिल्लारियललाई हार चखाउनेक्रममा रोनाल्डोले ७८औं मिनेटमा चलाखीपूर्ण गोल गरेका हुन्।
भिल्लारियलका खेलाडीले गरेको गल्तीलाई रोनाल्डोले भरपुर सदुपयोग गर्दै गोल गर्न सफल भए। जारी सिजनमा रोनाल्डोको यो छैठौं गोल हो। रोनाल्डोले यस सिजन च्याम्पियन्स लिगका सम्पूर्ण खेलमा गोल गरेका छन्।
यससँगै रोनाल्डोले थप एक नयाँ रेकर्ड पनि बनाएका छन्। भिल्लारियल विरुद्ध गोल गरेसँगै रोनाल्डो लगातार पाँच च्याम्पियन्स लिग खेलमा गोल गर्ने पहिलो प्रिमियर लिग खेलाडी बनेका छन्। विभिन्न बेलायती मिडियाहरुले गरेको दावी अनुसार च्याम्पियन्स लिगक शुरुवाती ५ खेलमा गोल गर्ने रोनाल्डो एक्ला प्रिमियर लिग खेलाडी हुन्।
रोनाल्डोेले भिल्लारियलविरुद्ध एक गोल गरेसँगै उनले व्यवसायिक खेल करिअरमा ८ सय गोलको नयाँ कीर्तिमान समेत बनाएका छन् भने युनाइटेडका लागि उनको गोल संख्या १० पुगेको छ। रोनाल्डोले १० गोल गरेको यो लगातार सत्रौं पटक हो।
युनाइटेडका लागि दोस्रो गोल जाडोन सान्चोले गरेका थिए। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सान्चोले गोल गरेका हुन्। भिल्लारियल विरुद्ध जित निकालेसँगै युनाइटेड नकआउट चरणमा प्रवेश गरेको छ।