पिएसजीलाई झड्का, जिदानले विश्राम तोड्न मानेनन् !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले जिनेदिन जिदानसँग भेटघाट गरेको खुलासा भएको छ। रियल म्याड्रिड छाडेयता खालि रहेका जिदानलाई पिएसजीका अधिकारीहरुले भेटेको खुलासा फ्रेन्च मिडियाहरुले गरेका हुन्।

जिदान र पिएसजीका अधिकारीहरु बीच पेरिसको एक होटलमा भेट भएको विभिन्न फ्रेन्च मिडियाहरुले दावी गरिरहेका छन्। पेरिसको विलासी होटल रोयल मोन्सेउमा दुई पक्षबीच छलफल भएको बताइन्छ। उक्त छलफलमा पिएसजीका खेलकुद निर्देशक लियोनार्डो, क्लबका महाप्रबन्धक जीन क्लाउडे ब्लाङ्कको सहभागिता रहेको थियो। जीन क्लाउड ब्लाङ्क जिदानक नजिकका साथि पनि हुन्।

छलफलका क्रममा पिएसजीका अधिकारीहरुले जिदानलाई पिएसजीको भावी योजनाहरु बारे जानकारी गराएका थिए। सो क्रममा जिदानले तत्कालै कतै जोडिन आफूले नचाहेको बताएका थिए। रियल छाडेपछि खालि रहेका उनी केहि समय खालि नै रहन चाहेको बुझिएको छ। जिदानले विश्राम तोड्न नचाहेको देखेपछि पिएसजीले अर्को सिजन सम्म पर्खिने बताएको फ्रेन्च मिडियाहरु दावी गर्छन्।

च्याम्पियन्स लिग जित्ने पिएसजीको चाहना

लामो समय देखि पिएसजीले एकै सपना देखिरहेको छ -च्याम्पियन्स लिग जित्ने। च्याम्पियन्स लिग जित्नको लागि नाम चलेका स्टारहरु माथि ठूलो धनराशि खर्च गर्दा पनि पिएसजीको सपना पूरा हुन सकिरहेको छैन।

विश्वका उत्कृष्ट खेलाडी मध्ये एक रहेका लियोनेल मेस्सी यसै सिजन बार्सिलोनाबाट पिएसजी आए। पिएसजीमा पहिला देखि नै रहेका नेयमार र एम्बाप्पे जस्ता खेलाडीसंग मेस्सी हुँदा पिएसजी थप बलियो हुने धेरैलको आशा थियो। तर अहिलेको अवस्थामा त्यसो हुन सकिरहेको छैन। मौरिसियो पोचेटिनोले यी तीन खेलाडी बीच तालमेल मिलाउन धेरै नै प्रयास गरिरहेका छन्। जुन सफल हुन सकिरहेको छैन।

यसै कारणले गर्दा पनि पिएसजी मौरिसियो पोचेटिनोको विकल्पको खोजिमा जुटेको छ। रियललाई ३ पटक च्याम्पियन्स लिग दिलाएका जिदानलाई जसरी पनि प्रशिक्षक बनाउने योजना पिएसजीको छ।

प्रकाशित : शुक्रबार, मङि्सर १०, २०७८०९:१७

युनाइटेडको नयाँ प्रशिक्षकमा राङनिक !