एजेन्सी – म्यानचेस्टर युनाइटेडले ओले गुन्नार सोल्साएरलाई बिदा गरेपछि उनको ठाउँमा राल्फ राङनिक आउने चर्चा छ। हाल लोकोमोटिभ मस्कोका खेलकुद र विकास प्रमुख रहेका राल्फसँग युनाइटेडले छिट्टै सम्झौता गर्न लागेको खबरहरु आएका छन्। बताइएअनुसार युनाइटेड र राङनिक बीच कम्तिमा ६ महिनाको लागि सम्झौता हुन सक्छ।
क्लब फुटबलमा राङनिक नौलो नाम होइन। ६३ वर्षिय राङनिक पछिल्लो पटक जर्मनमा आरबी लाइप्जिङको प्रशिक्षकको रुपमा रहेका छन्। चेल्सीका प्रशिक्षक थोमस टुचेल र लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप सहित बायर्न म्युनिखका प्रशिक्षक जुलियन नागेल्समान राङनिक प्रशंसक हुन्। धेरै जर्मन प्रशिक्षक उनलाई प्रेरणाको श्रोत मान्छन्।
युवा टोली र अनुभवी खेलाडीहरुले भरिएको युनाइटेडलाई उनले अगाडी बढाउने युनाइटेडका प्रशंसकहरुले आशा राखेका छन्। क्लबको प्रशिक्षकमा राङनिकको नाम जोडिएसँगै युनाइटेडका समर्थकहरु उत्साहित भएका छन्।
जर्मनीमा राङनिक ‘प्रोफेसर’ उपनामबाट परिचित छन्। जर्मनीमा उनी उत्कृष्ट रणनीति बनाउने प्रशिक्षकको रुपमा प्रशिक्षकको रुपमा चर्चित छन्। क्लोप र टुचेल दुवै उनको कामबाट धेरै प्रभावित छन्। विभिन्न अवसरहरुमा दुवैले यो स्विकार समेत गरिसकेका छन्।
युनाइटेडमा के परिवर्तन होला ?
राङनिकलाई ‘गडफादर अफ गेगेनप्रेस’को रुपमा पनि लिइन्छ। बलमा पकड गुमाए लगतै विपक्षीबाट बल खोसेर आक्रमणलाई प्रभावकारी बनाउनुलाई गेगेनप्रेसको रुपमा लिइन्छ। बल विपक्षीले खोसेपछि तुरुन्तै अन्य खेलाडीलाई पास दिनुभन्दा अगाडी प्रेस गरेर बल खोस्ने काम गेगेनप्रेस भित्र पर्छ।
गेगेनप्रेसिङको सिद्वान्त फुटबलमा नौलो नभएपछि आधुनिक फुटबलमा भने राङनिकले यस सिद्धान्तलै चर्चित बनाए। साल्के र होफाइनमा हुँदा गेगेनप्रेसिङलाई परिस्कृत रुपमा प्रयोग गरेका उनले आरबी साल्जबर्ग र आरबी लाइप्जिङमा पनि गेगेनप्रेसिङलाई नै अपनाएका थिए।
उनले युनाइटेडमा गेगेनप्रेसलाई कसरी लागू गराउलान् भन्ने हेर्न पक्कै पनि रोचक हुनेछ। युवा खेलाडीलाई बढी स्थान दिएर गेगेनप्रेस खेलाउँदा धेरै खेलाडीहरु उनको रोजाईमा नपर्ने अहिले देखि नै अनुमान लगाउन सकिन्छ।

