एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर दिमितार बेर्बातोभले यस वर्षको बालोन डी’ओरको सबै भन्दा बढी हकदार रोबर्ट लेवान्डोस्की रहेको बताएका छन्। बेटफेयरका लागि एक स्तम्भ लेख्नेक्रममा बेर्बातोभले लेवान्डोस्की बालोन डी’ओरको सबै भन्दा बढी हकदार रहेको बताएका हुन्।
लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो युग चलिरहेको भएपनि यस वर्षको बालोन डी’ओर लेवान्डोस्कीले जित्नुपर्ने बेर्बातोभको बुझाई छ। उनले स्तम्बमा लेखेका छन् कि लेवान्डोस्की गोलमेसिन हुन्।
“हामी मेस्सी र [क्रिस्टियानो] रोनाल्डोको युगमा छौँ। उनीहरुसँग र उनीहरु विरुद्ध खेल्न पाउनु हाम्रो भाग्यको कुरा हो। तर मेरा लागि यस वर्षको बालोन डी’ओर लेवान्डोस्कीले जित्नु पर्छ।”,बेर्बातोभले लेखेका छन्।
गएको वर्षको बालोन डी’ओरको हकदार पनि लेवान्डोस्की नै थिए भन्ने बेर्बातोभको भनाई छ। गोलका कारण मात्र नभई समग्र प्रदर्शनका कारण लेवान्डोस्की बालोन डी’ओरको हकदार रहेको बेर्बातोभले स्तम्भमा उल्लेख गरेका छन्। लेवान्डोस्कीले बालोन डी’ओर नजिते आफू निराश हुने पनि बेर्बातोभको भनाई छ।
बेर्बातोभ लेख्छन्,”लेवान्डोस्की गोलमेसिन हुन्। गोल गरेका कारण मात्र होइन सबै कारणले गर्दा उनले बालोन डी’ओर जित्नुपर्छ। गएको वर्ष पनि उनी नै हकदार थिए। तर के गर्नु स्थगित भयो। यस वर्ष पनि उनी कम छैनन्। उनले नै बालोन डी’ओर जित्नुपर्छ। उनले नजिते म निराश हुनेछु”

