एजेन्सी – जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले वल्फ्सवर्गमाथि पूनरागमन जित निकालेको छ। शनिबार राति भएको खेलमा डर्टमुन्डले वल्फ्सवर्गलाई उसकै घरेलु मैदानमा पराजित गरेको हो। वल्फ्सवर्गको घरेलु मैदानमा भएको खेलमा डर्टमुन्ड ३–१ ले विजयी भयो।
डर्टमुन्डको जितमा एम्री क्यान, डोनयल मालेन र एर्लिङ ब्राउट हालाण्डले गोल गरे भने वल्फ्सवर्गका लागि एक मात्र गोल वोउट वेगह्रस्टले गरे। खेलको शुरुवातमै वल्फ्सवर्गले गोल गरेका थिए। खेलको दोस्रो मिनेटमा नै उनले गोल गरेका थिए।
खेलको ३५औं मिनेटमा एम्री क्यानले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यस्तै डर्टमुन्डले खेलको ५५औं मिनेटमा पुनः अग्रता लियो। डोनयल मालेनले गोल गर्दै डर्टमुन्डलाई खेलमा २–१ को अग्रता दिलाएका थिए।
घाइते रहेर केहि महिना मैदान बाहिर रहेपछि फर्किएका ८०औं मिनेटमा हालाण्डले गोल गरे। शनिबारको जितसँगै डर्टमुन्डले ३० अंक बनाएको छ। डर्टमुन्ड बुन्डेसलिगाको दोस्रो स्थानमा छ।
हालाण्डले बनाए नयाँ रेकर्ड
वैकल्पिक खेलाडीको रुपमा प्रवेश गरेका हालाण्डले शनिबार नयाँ रेकर्ड बनाए। वल्फ्सवर्ग विरुद्धको खेलमा एक गोल गरेसँगै उनले बुन्डेसलिगामा ५० गोल पुरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्।
२१ वर्ष १२९ दिनमा उनले जर्मनीको शीर्ष लिगमा ५० गोल पूरा गर्न सफल भएका हुन् । उनले बुन्डेसलिगाको ५० गोल पुरा गर्न ५० खेल लगाए। हालाण्ड सन् २०१९–२० को जनवरी ट्रान्सफर विन्डोमा बोरुसिया डर्टमुन्डमा आएका थिए। पहिलो सिजनमै उनले १५ खेलमा १३ गोल गरेका थिए भने दोस्रो सिजनमा २८ खेलमा २७ गोल गरेका थिए। जारी सिजनमा उनले ७ खेलमा १० गोल गरिसकेका छन् ।

