एजेन्सी – फ्रेन्च स्टार पल पोग्बाले म्यानचेस्टर युनाइटेड छाड्ने लगभग पक्का-पक्कि जस्तै भइसकेको छ। यसै सिजनको अन्तिम पछि उनी जुनै पनि क्लबमा जान पाउनेछन्। विभिन्न संचार माध्यममा आएका खबरका अनुसार पोग्बा आफैं पनि युनाइटेडमा रहन चाहँदैनन् र क्लबले पनि सम्झौता थप गर्न चासो देखाएको छैन।
दुवै पक्ष सम्झौता थप नगर्नेमा स्पष्ट रहेको बताइन्छ। सिजनको शुरुवातमा युनाइटेडले पोग्बासँग सम्झौता थपका लागि केहि पहल गरेपनि पछिल्लो समय भने युनाइटेडले सम्झौता थप गर्न तर्फ ध्यान दिएको छैन।
कहाँ जालान् पोग्बा ?
गएको केहि समय देखि पोग्बा रियल म्याड्रिड जाने चर्चा चलिरहेको छ। पोग्बा फ्री ट्रान्सफरमा उपलब्ध भएको खण्डमा रियलले उनलाई भित्र्याउने दावी गरिन्छ। गएका वर्षहरु देखि नै रियलले पोग्बा माथि नजर लगाइरहेको छ।
जिनेदिन जिदान रियलको प्रशिक्षक हुँदा उनले पोग्बालाई भित्र्याउन धेरै नै प्रयास गरेका थिए। तर रियलका प्रशिक्षक कार्लो एन्सेलोटी भने पोग्बालाई लिएर स्पष्ट हुन सकिरहेका छैनन्।
एन्सेलोटीले खासै चासो नदेखाएकै कारण रियल पोग्बा भित्र्याउने योजनाबाट ब्याक हुन सक्ने अड्कलवाजी शुरु भएको छ। पोग्बालाई भित्र्याउने भन्दा पनि अन्य युवा खेलाडीमा लगानी गर्न एन्सेलोटीले रियललाई सुझाव दिएको विभिन्न संचार मध्यमहरु बताउँछन्।
रियल पोग्बा भित्र्याउन अनिच्छुक भएको खण्डमा उनले अर्को क्लबको खोजि गर्नुपर्नेछ। हुन त रियल बाहेक अन्य क्लबले पनि उनी माथि चासो देखाएका छन्। रियल ब्याक भएको खण्डमा उनी बार्सिलोना र पिएसजीको प्राथमिकतामा हुनेछन्।

