लेवान्डोस्की र जर्गिन्होलाई पछि पार्दै मेस्सीले जिते बालोन डि ओर

एजेन्सी – अर्जेन्टिना तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड लियोनेल मेस्सीले कीर्तिमानी सातापटक बालोन डि ओरको उपाधि जितेका छन् ।

यस वर्षको अवार्ड जित्ने क्रममा क्याटलान क्लब बार्सिलोनाका पुर्व फरवार्ड मेस्सीले जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र जर्गिन्होलाई पछि पारे । मेस्सीले ६१३ अंक प्राप्त गरे । लेवान्डोस्कीले ५८० तथा जर्गिन्होले ४६० अंक प्राप्त गरेका थिए ।

करिम बेन्जेमा, एङ्गोलो कान्टे, क्रिस्टियानो रोनाल्डो, मोहम्मद सलाह, केभिन डि ब्रुएन, केलियन एमबाप्पे र जियानलुइजी डोन्नररुम्मा शीर्ष १० मा रहे । रोनाल्डो छैटौ स्थानमा रहे । पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका रोनाल्डो सन् २०१० पछि शीर्ष तीनबाट बाहिर रहेको हो । उनी हरेक सिजनमा दावेदारको रुपमा रहँदा शीर्ष तीनमा पर्दै आएको थियो । उनी सर्वाधिक १७ पटक मनोनयनमा परेका छन् । मेस्सीको यो सातौ बालोन डि ओर अवार्ड हो । मेस्सीभन्दा पछि रोनाल्डोले पाँचपटक यो अवार्ड जितेका छन् ।

क्लब र राष्ट्रिय टोलीबाट अविस्मरणीय क्षण बिताएपछि मेस्सी अवार्डको दावेदारको शीर्ष सुचीमा रहँदै आएको थियो । मेस्सीले राष्ट्रिय टोलीबाट आफ्नो पहिलो सिनियर उपाधिको रुपमा कोपा अमेरिका कप जितेका थिए । उनी कोपामा प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएको थियो । यस्तै मेस्सीले गत सिजन बार्सिलोनालाई कोपा डेल रेको च्याम्पियन बनाएको थियो ।

बार्सिलोनासँग नयाँ सम्झौता हुन नसकेपछि उनी बार्सिलोना छाड्दै पिएसजी पुगेका थिए । मेस्सी फ्रान्सेली लिग वानमा भिज्न सकेको छैन । तर, पछिल्लो खेलमा ३ असिस्ट दिदै पिएसजीमा दिएका छन् । उनले पिएसजीका लागि यो सिजन ४ गोल गरेका छन् ।

मेस्सीले अवार्ड जितेपनि यो अवार्डको प्रमुख दावेदारको रुपमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की रहेका थिए । ३३ वर्षीय लेवान्डोस्कीले यो सिजन २० गोल गरिसकेका छन् । गत सिजन उनले २५ गोल गरेका थिए । गत सिजन पनि लेवान्डोस्की दावेदारको रुपमा रहेपनि कोरोना महामारीका कारण यो अवार्ड कार्यक्रम हुन सकेको थिएन ।

चेल्सीका इटालियन मिडफिल्डर जर्गिन्होले आफ्नो क्लबसँग च्याम्पियन्स लिग र इटालीसँग युरोकप २०२० जितेर अवार्डको दावेदारको रुपमा हेरिएपनि उनी तेस्रो स्थानमा रहे । करिम बेन्जेमाले रियल म्याड्रिडमा प्रभावशाली प्रदर्शन गरेपनि उनी चौथो स्थानमा रहे । बेन्जेमाकै फ्रान्सेली सहयात्री केलियन एमबाप्पे, एर्लिङ ब्राउट हालान्ड पनि पछि नै परे । एमबाप्पे र हालान्डलाई भविष्यको अवार्डको दावेदारको रुपमा हेरिएको छ ।

मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा अवार्ड जितेका छन् । सन् २००७ मा तेस्रो स्थानमा रहेको मेस्सी २००८, २०१३, २०१४, २०१६ र २०१७ मा उपविजेता बनेको थियो ।

यो अवार्ड फ्रान्सबाट प्रकाशित हुने ‘फ्रान्स फुटबल’ले हरेक वर्ष आयोजना गर्दै आइरहेको छ । सन् १९५६ देखि आयोजना हुदै आएको यो अवार्ड सन् २००९ सम्म बालोन डि ओरको नामबाट प्रदान गरिदै आएको थियो । २०१० देखि २०१५ सम्म फिफा बालोन डि ओर भएपनि त्यसपछि पुनः बालोन डि ओरकै नामबाट अवार्ड आयोजना हुदै आएको छ ।

प्रकाशित : मङ्गलबार, मङि्सर १४, २०७८०८:५६

लेवान्डोस्कीलाई दिन छुट्टै अवार्ड बनाइयो !