लेवान्डोस्कीलाई दिन छुट्टै अवार्ड बनाइयो !

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले बालोन डि ओर अवार्ड अन्तरगतको वर्षको उत्कृष्ट गोलकर्ताको अवार्ड जितेका छन् ।

बालोन डि ओर अवार्डकै मुख्य दावेदार रहेको लेवान्डोस्की यसवर्ष दोस्रो स्थानमा रहे । सोमबार राति भएको अवार्ड कार्यक्रममा अर्जेन्टिना तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड लियोनेल मेस्सीले कीर्तिमानी सातापटक यो अवार्ड जितेका थिए ।

बालोन डि ओरमा उत्कृष्ट गोलकर्ता र उत्कृष्ट क्लब अवार्डमा थपिएको नयाँ विधा हो । कोपा ट्रफी र यासिन ट्रफी यसअघि प्रदान गरिदै आएको थियो । पेरिसमा भएको कार्यक्रममा हरेका खेलमा पुरुष तथा महिलातर्फ उत्कृष्ट खेलाडीलाई यो ट्रफी प्रदान गरिएको थियो । लेवान्डोस्कीले गत सिजन जर्मन च्याम्पियन बायर्न म्युनिखका लागि ४० खेलमा ५१ गोल गरेका थिए । उनले बुन्डेसलिगाको इतिहासमा ४७ वर्ष पुरानो कीर्तिमानसमेत भंग गरेका थिए ।

यस्तै इंग्लिस क्लब चेल्सीले वर्षको उत्कृष्ट क्लबको अवार्ड जितेका छन् । चेल्सीले गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थियो । यो सिजन पनि उच्च प्रदर्शन गरिरहेको चेल्सी इंग्लिस प्रिमियर लिगमा १३ खेलबाट ३० अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

२१ वर्ष मुनिको लागि प्रदान गरिने कोपा ट्रफी स्पेनिस स्टार युवा मिडफिल्डर पेड्रीले जिते । यसअघि यो अवार्ड केलियन एमबाप्पे र म्याथ्थिज डि लेग्टले जितेका थिए । यो विधामा जुडे बेलिङघम, बुकायो साका, जियो रेना, मासन ग्रीनवुड, जमल मुसिएला, फ्लोरियन विर्ट्ज, जेरेमी डोकु, नुनो मेन्डेस र रायन ग्रेभेनवर्च अवार्डको दावेदारमा थिए ।

क्याटलान क्लब बार्सिलोनाका १९ वर्षीय पेड्रीले गत सिजन उच्च प्रदर्शन गर्दै सबैको मन जित्न सफल भएका थिए । उनले गोल्डेन ब्वायको अवार्ड पनि जितिसकेका छन् । लास पालमासबाट गत सिजन नै बार्सिलोना आएका पेड्रीले बार्सिलोनाका लागि ५२ खेल खेलिसकेका छन् । उनले स्पेनबाट युरोकप र टोकियो ओलम्पिकमा समेत प्रतिनिधित्व गरिसकेका छन् ।

यस्तै इटाली तथा तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का जियानलुइजी डोन्नरम्माले गोलरक्षकलाई प्रदान गरिने यासिन ट्रफी जितेका छन् । उनले चेल्सीका इडुआर्ड मेन्डीलाई पछि पारेका हुन् । डोन्नररुम्माले इटालीबाट युरोकप २०२० को उपाधि जितेको थियो ।

प्रकाशित : मङ्गलबार, मङि्सर १४, २०७८०९:२९

ठूलो दुखपछि डेब्यु गर्न पाएपछि भावुक भए रामोस, सबैलाई धन्यवाद दिंदै यसो लेखे !