एजेन्सी – एसि मिलानक स्टार स्ट्राइकर ज्लाटन इभ्राहिमोभिचले यस वर्षको बालोन डी’ओर बारे मुख खोलेका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा इभ्राहिमोभिचले सन् २०२१ को बालोन डी’ओर बारे चर्चा गरेका हुन्।
उक्त इटालियन पत्रिकासँग कुराकानी गर्नेक्रममा इभ्राहिमोभिचले यस पटकको बालोन डी’ओरको वास्तविक हकदार रोबर्ट लेवान्डोस्की रहेको बताए। मेस्सी फुटबलका लागि जिउने भएपनि यसपटक लेवान्डोस्की बालोन डी’ओरको हकदार रहेको इभ्राहिमोभिचको भनाई छ।
मेस्सीसँग तपाईको सम्बन्ध कस्तो छ ? भनेर प्रश्न गरिँदा इभ्राहिमोभिचले भने,”हामी बीच व्यवसायिक सम्बन्ध छ। लियो फुटबलको लागि बाँच्छन्।तर लेवान्डोस्की यस वर्ष बालोन डी’ओरको हकदार थिए।”
त्यस्तै इभ्राहिमोभिचले क्रिस्टियानो रोनाल्डो र मेस्सीमा एक रोज्नुपर्दा मेस्सीलाई रोज्ने पनि बताए। रोनाल्डोसँग आफूले नखेलेको र मेस्सीसँग खेलेको कारण आफू मेस्सीलाई रोज्ने इभ्राहिमोभिचको भनाई छ।
“दुवै राम्रो खेल्छन्। तर म मेस्सीलाई रोज्छु। किनकि मैले उनीसँग खेलेको छु।”,इभ्राहिमोभिचले भने। इभ्राहिमोभिच र मेस्सीले एक वर्ष बार्सिलोनामा सँगै खेलेका थिए। तर एक वर्ष बित्ने बितिकै इभ्राहिमोभिच बार्सिलोना छाडेका थिए।

