एजेन्सी – एसि मिलानक स्टार स्ट्राइकर ज्लाटन इभ्राहिमोभिचले किलियन एम्बाप्पेलाई पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्न सुझाव दिएको स्विकार गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा इभ्राहिमोभिचले एम्बाप्पेलाई पिएसजी छाड्न सुझाव दिएको स्विकार गरेका हुन्।
एम्बाप्पेलाई तपाईले पिएसजी छाड्न सुझाव दिनुभएको कुरा सत्य हो ? भनेर प्रश्न गरिँदा इभ्राहिमोभिच सजिलै स्विकारे। एम्बाप्पेका लागि पिएसजीको भन्दा रियल म्याड्रिडको वातावरण राम्रो हुने इभ्राहिमोभिचको भनाई छ।
“हो, यो साँचो हो। एमबाप्पेलाई रियल म्याड्रिडको जस्तै थप संरचित वातावरण ठिक हुन्छ। तर यो पनि सत्य हो कि मैले पिएसजीका अध्यक्षलाई नबेच्न पनि सुझाव दिएको थिएँ।”,जवाफ दिँदै इभ्राहिमोभिचले भने।
एम्बाप्पे सन् २०१७ मा मोनाकोबाट लोनमा पिएसजी आएका थिए। पछि पिएसजीले एम्बाप्पेलाई १ सय ८० मिलियन युरोमा किनेको थियो। एम्बाप्पेको सम्झौता यस सिजनको अन्त्यमा सकिँदैछ। पिएसजीले सम्झौता गर्ने प्रयास गरेपनि एम्बाप्पेले मानिरहेका छैनन्। उनले पिएसजी छाड्ने तर्फ नै बल गरिरहेका छन्।
गएको ट्रान्सफर विन्डोमा रियल म्याड्रिडलाई किन्ने प्रयास गरेको थियो। त्यसबेला रियल एम्बाप्पेका लागि २ सय मिलियन सम्म तिर्न तयार भएको थियो। १ सय ८० मिलियनबाट बढाएर रियलले २ सय मिलियन युरो सम्मको बोलि लगाउँदा पनि पिएसजीले एम्बाप्पेलाई बिक्री गर्न अस्विकार गरेको थियो।