एजेन्सी – फ्रान्सेली लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) बराबरीमा रोकिएको छ । पिएसजी घरेलु मैदानमा निससँग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु मैदान पार्क डेस प्रिन्सेसमा ७० प्रतिशत बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा पिएसजी बराबरीमा रोकिन बाध्य बन्यो । पहिलो हाफमा दुवै टोलीबाट उल्लेख गोलको अवसर सिर्जना हुन सकेन ।
६४औं मिनेटमा लियोनेल मेस्सीको पासमा बेलियन एमबाप्पेले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पिएसजी अग्रता लिनबाट चुक्यो । ७६औं मिनेटमा एन्जल डि मारियाले मौका खेर फाल्यो ।
यो बराबरीसँगै पिएसजी १६ खेलबाट ४१ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पिएसजीले एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको मार्सेलाई १२ अंकले पछि पारेको छ । मार्सेको २९ अंक छ । बराबरीमा रोकिएसँगै निस दोस्रो स्थानमा उक्लने मौका गुमाउँदा २७ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
अन्य नतिजाएन्जर्सविरुद्ध मोनाको (१–३), ब्रेस्टविरुद्ध सेन्ट इटिएन (१–०), मेट्जविरुद्ध मोन्ट पेलिएर (१–३), स्टार्सवर्गविरुद्ध बार्डेअक्स (५–२), ट्रोएसविरुद्ध लोरिएन्ट (२–०), क्लेरमोन्ट फुटविरुद्ध लेन्स (२–२), लियोनविरुद्ध रेइम्स (१–२), नान्टेसविरुद्ध मार्से (०–१) र रेनेसविरुद्ध लिल (१–२)