अर्थमन्त्रीको व्यवसायीलाई अग्रह – ‘नेपालमै मोबाइल बनाउनुस्’

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीलाई आग्रह गरेका छन्। उनले नेपालमा मोबाइल उत्पादन गर्न सरकारले सहयोग गर्ने आश्वासन पनि दिएका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

मोबाइल वितरक संघको दोस्रो महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘मेरो मोबाइल कम्पनीले नेपालमा नै मोबाइल फोन उत्पादन गर्ने तयारी गरेको भन्ने मैले सुनेको छु, मेरो मोबाइल मात्र हैन,तपाईंहरूले पनि फोन उत्पादनमा जोड दिनुस्,सरकारले गर्न सक्ने सहयोग गर्छ।’

यस्तै,उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारी गराए। ‘गत साउनबाट एमडिएमएस लागू भएको मलाई जानकारी आएको थियो।

तर पूर्णरूपमा लागू नभएको कुरा मैले हिजो मात्र सुनें, एमडिएमएस लागू गर्न के समस्या भएको हो, तत्काल समाधान गरी लागू गर्न मैले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु,’ अर्थमन्त्री शर्मा भने,‘अवैध रूपमा हुने कारोबार र राजस्व चुहावट रोक्न सरकार सधैं तयार छ।’

अर्थ मन्त्रालयका कारण एमडिएमएस लागू गर्न ढिला भएको भन्ने मोबाइल व्यवसायीको आरोपसमेत उनले खण्डन गरे। ‘तपाईंहरूले अर्थ मन्त्रालय र अर्थमन्त्रीका कारण एमडिएमएस लागू नभएको भन्नुभएको रैछ,सरकारलाई नोक्सान हुनेमा मैले कहिले सहयोग गर्दिन, तपाईं ढुक्क हुनुस् एमडिएमएस पूर्ण रूपमा लागु हुन्छ,’ उनले भने। मोबाइल फोन आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले लामो समयको तयारीपछि पनि एमडिएमएस पूर्णरूपमा लागू नहुनु दुःखद भएको बताए।

प्रकाशित : बिहिबार, मङि्सर १६, २०७८०९:३१

ओमिक्रोन त्रास बढेपछि, नौ राष्ट्रबाट नेपाल आउन रोक ! कुन-कुन ? [सूची सहित]