एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा आर्सनलको सामना गर्दा सबैको ध्यान क्रिस्टियानो रोनाल्डो तर्फ छ। पछिल्ला तीन प्रिमियर लिग खेलमा गोल गर्न नसकेका उनले आर्सनल विरुद्ध कस्तो खेल्छन् भन्नेमा सबैको चासो छ। रोनाल्डोले प्रिमियर लिगमा पछिल्ला तीन खेल चेल्सी, वाटफोर्ड र म्यानचेस्टर सिटी विरुद्ध गोल गर्न सकेका थिएनन्।
अर्को चासो यो पनि छ कि – रोनाल्डो शुरुवाती ११ मा पर्लान् कि नपर्लान् ? रोनाल्डो चेल्सी विरुद्धको खेलमा शुरुवाती ११ मा अटाउन सकेका थिएनन्। युनाइटेडका अन्तरिम प्रशिक्षक माइकल क्यारिकले रोनाल्डोलाई वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गराएका थिए।
ओल्ड ट्राफोर्डमा आर्सनल विरुद्ध रोनाल्डोको प्रदर्शन
युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा आर्सनल विरुद्ध रोनाल्डोको रेकर्ड धेरै नै खराब छ। रोनाल्डोले युनाइटेडको घरेलु मैदानमा आर्सनल विरुद्ध एक मात्र गोल गरेका छन्। रोनाल्डोले पछिल्लो पटक ओल्ड ट्राफोर्डमा आर्सनल विरुद्ध सन् २००८ मा गोल गरेका थिए। सन् २००८ को अप्रिलमा भएको खेलमा युनाइटेडले आर्सनललाई पराजित गर्दा रोनाल्डो गोल गर्न सफल भएका थिए। यदि रोनाल्डोले गोल गर्छन् भने उक्त गोल ४ हजार ९ सय ८२ दिन पछिको आर्सनल विरुद्धको ओल्ड ट्राफोर्ड गोल हुनेछ।
लडाईं शिर्ष चारको
शिर्ष चारमा प्रवेश गर्नको लागि संघर्ष गरिरहेको आर्सनल र युनाइटेड बीचको खेल निकै नै रोमान्चक हुनेछ। युनाइटेड विरुद्ध जित निकाल्न सकेको खण्डमा आर्सनल शिर्ष चारमा प्रवेश गर्नेछ। तर यदि हारेको खण्डमा भने पाँचौ स्थानमा नै यथावत रहनेछ।