एजेन्सी – ग्रहहरुको सेनापति मंगल ग्रहले सोमबार राशि परिवर्तन गर्दैछ। आइतबार बिहान ६ बजेर ३६ मिनेट पश्चात मंगल तुला राशिबाट वृश्चिक राशिमा प्रवेश गर्नेछ। मंगल विश्चिक राशिमा १५ जनवरी सम्म रहनेछ। मंगलले राशि परिवर्तन गर्दा हरेक राशिलाई भिन्न-भिन्न प्रकारको प्रभाव पर्नेछ।
कुन राशिलाई कस्तो प्रभाव ?
मेष राशि
मंगलको राशि परिवर्तन मेष राशि हुनेहरुका लागि मध्यम रहनेछ। मंगलका कारण कठिन भन्दा कठिन कार्य सफल भएपनि धन संचित गर्न भने सकिने छैन। खर्च बढ्दा आर्थिक समस्याले सताउनेछ। स्वास्थ्यमा भने मंगलको शुभ प्रभाव नै रहला। विश्वासपात्रबाटै धोका हुने सम्भावना देखिएका संयमता आवश्यक रहनेछ।
वृष राशि
कार्य क्षमता र इच्छाशक्तिमा वृद्धि हुँदा कठिन भन्दा कठिन कार्य सम्पन्न हुनेछ। लामो समय देखि अड्किएका कार्य सुचारु हुनेछ। नयाँ कार्य थालनीको योजना पनि सफल होला। पारिवारिक माहोल पनि आफूले चाहे जस्तै हुनेछ। यात्राको अवसर मिल्न सक्ला।
मिथुन राशि
मंगलको राशि परिवर्तन मिथुन राशि हुनेहरुका लागि त्यति सुखद रहने देखिँदैन। समयमा आँट गर्न नसक्दा महत्वपूर्ण काम फुत्किनेछन्। प्रेम जीवनमा पनि समस्या पैदा हुनेछ। समयमा निर्णय गर्न नसक्दा लज्जित हुनुपर्नेछ। सामाजिक दायित्व पूरा गर्न अलि गार्है पर्ला। सकेसम्म लेनदेन नगरेकै राम्रो होला।
कर्कट राशि
हरेक कार्यमा सफलता मिल्दा मानसिक तनाव देखि छुटकारा मिल्नेछ। सामाजिक कार्यमा रुची बढ्दा मान-सम्मान प्राप्त हुनेछ। खेलाडी तथा कलाकारहरुले पनि मंगल राशिको राशि परिवर्तनबाट लाभ प्राप्त गर्नेछन्। प्रेम जीवन पनि उल्लासमयी रहनेछ।
सिंह राशि
मंगलले राशि परिवर्तन गर्दा आम्दानी बढ्नेछ। समाजमा मान सम्मान बढ्नेछ। भाग्यले राम्रो साथ दिनेछ। गर-गहना जोड्ने अवसर मिल्न सक्ला। पठन-पाठनमा राम्रो प्रगति हुनेछ। प्रेम सम्बन्धमा पनि मंगलको शुभ प्रभाव रहँदा असमझदारी हटेर जानेछ।
कन्या राशि
मंगलको राशि परिवर्तनसँगै जीवनमा विभिन्न प्रकारमा समस्या देखा पर्न थाल्नेछन्। खर्च बढेर जानेछ। परिवारमा स्वास्थ्य समस्या देखा पर्न सक्ला। व्यापार-व्यवसायबाट खासै आय हुनेछैन। सके सम्म यात्रा नगरेकै राम्रो छ। कुनै पनि नयाँ काम थालनी गर्नु भन्दा अगाडी गम्भीर भएर सोच विचार गर्नुहोला। शत्रु हावी हुन सक्लान्।
तुला राशि
नयाँ व्यापार वा नयाँ साझेदारीको थालनी हुनेछ। आम्दानीका श्रोत बढ्नेछन् भने व्यापार व्यावसायमा लाभ हुनेछ। पराक्रम बढेर जाँदा कठिन भन्दा कठिन कार्य पनि सफल हुनेछन्। बोल्ने कलाका कारण धेरै काम सम्पन्न हुनेछन्। प्रेम जीवनमा पनि मंगलको राशि परिवर्तनले लाभ पुर्याउला।
वृश्चिक राशि
मंगलले राशि परिवर्तन गर्दा वृश्चिक राशि हुनेहरुलाई शैक्षिक रुपमा धेरै लाभ मिल्नेछ। प्रतियोगिता तथा प्रतिष्पर्धाहरुमा सहजै सफलता मिल्नेछ भने शत्रुहरु सहजै पराजित हुनेछन्। परिश्रमले हरेक कार्यमा सफलता दिलाउनेछ। भाग्यको पूरा साथ मिल्नेछ। कार्यक्षेत्र पनि विस्तार हुनेछ।
धनु राशि
धनु राशि हुनेहरुका लागि मंगलको राशि परिवर्तन मिश्रित रहनेछ। आर्थिक रुपमा समय राम्रै रहेपनि तनावले साथ छाड्ने छैन। बेसुरमा वचन दिने बानीले समस्या पैदा गर्नेछ। नजिकका व्यक्तिहरुबाटै धोका हुन सक्ला। यधपी स्वास्थ्यमा भने मंगलको शुभ प्रभाव रहनेछ। लामो समय देखि भेट नभएका प्रियजनसँग पनि भेट हुन सक्ने देखिन्छ।
मकर राशि
खर्च बढेपनि आर्थिक प्रवाह राम्रो हुनाले आर्थिक संकट टर्नेछ। सानो प्रयत्नले पनि महत्वपूर्ण सफलता दिलाउनेछ। शत्रु सहजै पराजित हुनेछन्। सामाजिक सक्रियताले सम्मान दिलाउनेछ। कानुनी रुपमा रहेका समस्या देखि छुटकारा मिल्न सक्ला। पैत्रिक सम्पत्तिबाट राम्रो लाभ हुनेछ।
कुम्भ राशि
मकरको राशि परिवर्तनले जीवनमा अनावश्यक समस्या पैदा गर्न सक्छ। अरूको भर पर्दा महत्त्वाकांक्षा पूरा हुनेछैन। अप्ठ्याराे परिस्थितिमा आफ्नै भनिएकाहरुको साथ मिल्नेछैन। स्वास्थ्यमा पनि समस्या देखिन सक्ला। अध्ययनमा खासै प्रगति नहुने देखिन्छ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आउन सक्ला।
मीन राशि
मंगलले राशि परिवर्तन गरेसँगै मीन राशि हुनेहरुको खर्च बढेर जानेछ। कसैलाई सापटी नदिएकै राम्रो होला। पारिवारिक असमझदारीले काममा बाधा पर्नेछ। आफन्तबीच असमझदारी बढ्ने सक्ने हुँदा त्यस तर्फ ध्यान दिनु होला। पारिवारिक रुपमा पनि मंगलको राशि परिवर्तन खासै राम्रो रहने देखिँदैन।