एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शीर्षस्थानमा प्रतिस्पर्धा गरिरहेको बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ ।
बायर्नले समेटिएको डर्टमुन्डलाई उसकै मैदानमा ३–२ को जित निकालेको हो । सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोली डर्टमुन्डले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्न पुग्यो ।
खेलको पाँचौ मिनेटमा जुलियन ब्रान्ड्टको गोलमा डर्टमुन्डले अग्रता लिएको थियो । उनले जुडे बेलिङघमको पासमा गोल गरेका थिए । तर, डर्टमुन्डको अग्रता लामो समय टिकेन । नवौं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले थोमस मुलरको पासलाई सदुपयोग गरेका थिए ।
४४औं मिनेटमा किङ्सले कोमानले गोल गर्दै बायर्नलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । ४८ौं मिनेटमा एर्लिङ ब्राउट हालान्डले बेलिङघमकै पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ७७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नलाई ३–२ को जित दिलाए ।
म्याट हमेल्सले पेनाल्टी बक्समा हातले बल छुन पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै बायर्नलाई पेनालटी प्रदान गर्दा लेवान्डोस्की चुकेनन् । त्यसैमा विवाद गरेपछि प्रशिक्षक मार्काे रोस दोहोरो पहेँलो कार्ड खाँदै टच लाइनबाट बाहिरिए । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न विजयी हुन सफल भयो ।
यो जितसँगै बायर्नले शीर्षस्थानमा ४ अंकको स्पष्ट अग्रता बनाएको छ । बायर्नले दोस्रो स्थानको डर्टमुन्डलाई ४ अंकले पछि पारेको हो । बायर्नको १४ खेलबाट ३४ तथा डर्टमुन्डको ३० अंक छ ।