ओराली लागेको हिरणको चाल भो जस्तै भयो यस सिजन मेस्सी-नेयमर जस्ता स्टारको हाल !

२०१९-२० सिजनमा कोभिड-१९ ब्रेक पछि, मानिसहरु बीच फुटबलिङ याक्सनलाई लिएर निकै उत्सुकता रहेको थियो। २०२०-२१ सिजन २०१९-२० अभियान समाप्त भएको लगत्तै सुरु भयो। खेलाडीहरुको लागि यो समय निकै कठिन रह्यो। २०२१ को समर पनि खेलाडीहरुको लागि दयालु थिएन।

२०२१-२२ सिजन समाप्त भएको लगत्तै, युरो २०२०, कोपा अमेरिका र गोल्डकप जस्ता अन्तर्राष्ट्रिय महाद्वीपीय प्रतियोगिताहरू सुरु भएका थिए। भन्नु पर्दा, पछिल्ला दुई वर्ष फुटबलरहरूलाई शारीरिक र मानसिक रूपमा त्यति सहज रहेन। यस्तोमा यो सिजनमा केहि खेलाडीहरु आफ्नो उत्कृष्ट लय कायम राख्न सफल भएका छन् भने केहि उत्कृष्ट खेलाडीहरु आफ्नो स्तरको प्रदर्शन गर्न सक्षम भएका छैनन्।

यस्तोमा आज यस्ता ५ फरवार्डका बारेमा कुरा गरौँ जसले यस सिजन गोल गर्न संघर्ष गरिरहेका छन्।

५. पियरे-एमरिक अबामियाङ (आर्सनल) 

विश्व फुटबल कै सर्वश्रेष्ठ स्ट्राइकर मध्ये मानिने ग्याबोन स्टार खेलाडीले यस सिजन प्रिमियर लिगका १४ खेलमा मात्र ४ गोल गर्न सफल भएका छन्। जर्मन क्लब बोरुसिया डर्टमण्ड स्टार आर्सनल आएपछि पनि निकै उत्कृष्ट लयमा रहेका थिए। उनले २०१८-१९ सिजनमा २२ गोलका साथ गोल्डेन बुट जित्न सफल भएका थिए।

४. नेयमार (पेरिस सेन्ट जर्मेन) 

गत सिजन ३१ खेलमा १७ गोल र ११ असिस्ट प्रदान गरेका ब्राजिलियन सुपरस्टार खेलाडीलाई आधुनिक पुस्ताका तेस्रो सर्वश्रेष्ठ खेलाडी पनि मानिन्छ। निकै उत्कृष्ट प्ले-मेकर मानिने पूर्व बार्सिलोना स्टार उत्कृष्ट गोलकर्ता पनि हुन्। हाल फुटबल जगतमा सर्वश्रेष्ठ ड्रिबलर मानिने नेयमार यस सिजन भने खासै आफ्नो प्रभाव पार्न सफल भएका छैनन्। यस सिजन उनले सबै प्रतियोगितामा १४ खेलमा मात्र ३ गोल गरेका छन्।

३. रोमेलु लुकाकु (चेल्सी) 

गत सिजन इन्टर मिलानलाई सरी-ए च्याम्पियन बनाउनको लागि प्रमुख भूमिका खेलेका बेल्जियन स्टारले यसै समरमा ११५ मिलियनमा पूर्व क्लब चेल्सीसँग अनुबन्ध भएका थिए। च्याम्पियन्स लिग विजेताका लागि निकै उत्कृष्ट डेब्यु गरेका लुकाकुले त्यसपछि भने खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन्। गत सिजन इन्टरका लागि ४४ खेलमा ३० गोल र १० असिस्ट प्रदान गरेका लुकाकुले चेल्सीका लागि पहिलो ४ खेलमा ४ गोल गरेका थिए। त्यसपछि चोटका कारण ग्रसित भएका उनले एक पनि गोल गर्न सकेका छैनन्।

२. लियोनल मेस्सी (पेरिस सेन्ट जर्मेन) 

लियोनल मेस्सी पछिल्लो दशक कै सर्वश्रेष्ठ गोलकर्ता मध्ये एक हुन्। ३४ वर्षीय अर्जेन्टिनी सुपरस्टार खेलाडी उत्कृष्ट प्ले-मेकर हुनुका साथै उत्कृष्ट गोलकर्ता पनि हुन्। उनले गत केहि सिजन देखि बार्सिलोनालाई आफ्नै काँधमा बोकेर हिडेका थिए। गत सिजन लालिगामा ३० गोलका साथ् उच्च गोलकर्ता बन्न सफल भएका ७ पटकका बालोन डी ओर विजेताले यस सिजन भने फ्रेन्च क्लबका लागि १३ खेलमा मात्र ४ गोल गर्न सफल भएका छन्।

१. ह्यारी केन (टोटनह्याम हट्सपर) 

गत सिजन प्रिमियर लिगको उच्च गोलकर्ताको रूपमा गोल्डेन बुट जित्नुका साथै उनले उच्च असिस्ट प्रदान गर्दै उत्कृष्ट प्ले-मेकर अवार्ड समेत जितेका थिए। उनले गत सिजन ३५ खेलमा २३ गोल गर्नुका साथै १४ असिस्ट पनि प्रदान गर्न सफल भएका थिए। जसपछि सिजनको सुरुवातमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँग अनुबन्ध हुने चर्चा चलेपनि उक्त ट्रान्सफर सम्पन्न हुन सकेन। तर यस सिजन भने उनी आफ्नो लय समात्नको लागि निकै संघर्ष गरिरहेका छन्। उनले यस सिजन १३ प्रिमियर लिग खेलमा मात्र एक गोल गर्न सफल भएका छन्।

प्रकाशित : मङ्गलबार, मङि्सर २१, २०७८११:५७

च्याम्पियन्स लिगमा आज: मेस्सीको चमत्कार देखिएला त ? कुन च्यानलमा हेर्ने खेल ?