एजेन्सी – च्याम्पियन लिगको नकआउट चरणमा प्रवेश गरिसकेको पेरिस सेन्ट जर्मेन(पिएसजी)ले क्लब ब्रुगलाई पराजित गरेको छ। मंगलबार राति भएको खेलमा पिएसजीले क्लब ब्रुगलाई ४-१ को गोल अन्तरले पराजित गरेको हो।
पिएसजीको घरेलु मैदानमा भएको खेलमा किलियन एम्बाप्पे र लियोनेल मेस्सीले दुई-दुई गोल गरे। जस मध्ये मेस्सीले गरेको एक गोल पेनाल्टी थियो। क्लब ब्रुगका लागि भने माट्स रिट्सले सान्त्वना गोल फर्काए।
पिएसजीले खेलको दोस्रो मिनेटमै अग्रता लिएको थियो। नुनो मेन्डेसको सुरुवाती प्रहार गोलरक्षकले बचाएपनि आएको रिबाउन्डलाई एम्बाप्पेले गोलमा परिणत गरेका थिए। गोल गरेको पाँच मिनेट नबित्दै एम्बाप्पेले पिएसजीको अग्रता दोब्बर पारे। एन्जल डी मारियाले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासलाई एम्बाप्पेले गोल पोस्टको बाटो देखाएका थिए।
त्यस्तै मेस्सीले खेलको ३७ औं मिनेटमा गोल गरे। मेस्सीको गोल सँगै पिएसजी पहिलो हाफमा नै ३-० को बलियो अवस्थामा पुग्यो। खेलको ६७ अौं मिनेटमा माट्स रिट्सले गोल गर्दै ब्रुगलाई खेलमा फर्काउन पुगे। तर मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाइएपछि पिएसजीले पेनाल्टी पायो। पेनाल्टीमा मेस्सीले गोल गर्दै पिएसजीलाई ४-१ को अवस्थामा पुर्याए।
च्याम्पियन्स लिग समूह चरणको अन्तिम खेलमा जित निकालेपनि पिएसजी दोस्रो स्थानमा रह्यो। समूह चरणका ६ खेलमा पिएसजीले ३ जित र १ हार बेहोर्यो। तर दुई खेलमा भने पिएसजीले बराबरी खेल्यो।