च्याम्पियन्स लिगको अन्तिम खेलमा चम्किए हालान्ड !

एजेन्सी – च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिसकेको जर्मन क्लब बोरुसिया डर्टमुन्डले समूह चरणको अन्तिम खेलम सानदार जित दर्ता गर्दै सुखद अन्त्य गरेको छ ।

घरेलु मैदानमा डर्टमुन्डले १० खेलाडीमा समेटिएको टर्किस क्लब बेसिक्टासलाई ५–० को भारी गोल अन्तरले पराजित गरेको हो । डर्टमुन्डको जितमा कप्तान मार्काे रिउस र एर्लिङ ब्राउट हालान्डले समान दुई तथा डोनेल मालेनले एक गोल गरे ।

सिग्नल इडुना पार्क जर्मनीमा मंगलबार राति भएको एकपक्षीय खेलमा घरेलु टोलीले खेलको २९औं मिनेटमा डोनेल मालेनको गोलबाट अग्रता लिएको थियो । उनले जुडे बेलिंघमको पासमा गोल गरेका थिए ।

४३औं मिनेटमा वेलिन्टन सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसको फाइदा डर्टमुन्डले उठाउन सफल भयो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा कप्तान मार्काे रिउसले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

५३औं मिनेटमा मामुद दाहुदको पासमा कप्तान रिउसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । त्यसपछिको दुवै गोल युवा स्टार हालान्डको नाममा रह्यो । ६८औं मिनेटमा हालान्डले निको स्कल्जको पासमा गोल गर्दै डर्टमुन्डलाई फराकिलो जिततर्फ अग्रसर गराए ।

८१औं मिनेटमा मामुद दाहुदको पासमा हालान्डले व्यक्तिगत दोस्रो र टोलीको लागि पाँचौ गोल गर्दै डर्टमुन्डलाई फराकिलो जित दिलाए ।
जितपछि डर्टमुन्ड समूह ‘सी’ मा ९ अंक जोडेर तेस्रो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ । पराजित बेसिक्टास अंकविहीन बन्यो ।

यही समूहको अर्काे खेलमा डच क्लब आयाक्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई ४–२ ले पराजित गरेको छ । आयाक्सको जितमा सेवास्टिन हालेर, एन्टोनी, डेभिड नेरेस र स्टेभन बर्गहुइसले गोल गरे । स्पोर्टिङका नुनो सान्तोस र टावाटाले गोल फर्काए ।

यो नतिजापछि आयाक्सले समूह चरणमा शतप्रतिशत जित निकाल्दै १८ अंक जोडेर शीर्षस्थान कब्जा गर्यो । हारका बाबजुद स्पोर्टिङ ९ अंक जोडेर दोस्रो स्थानमा रहँदै समूह उपविजेता बन्यो ।

प्रकाशित : बुधबार, मङि्सर २२, २०७८०८:४३

मेस्सीले तोडे पेलेको रेकर्ड, अब रोनाल्डो माथि नजर !