लियोनेल मेस्सीले गत हप्ता सबैभन्दा धेरै जितको साथ आफ्नो रेकर्ड विस्तार गर्दै आफ्नो सातौं बालोन डी’ओर जिते। र उनका छोरा थियागो आफ्नो बुबाको संग्रहमा थपिएको पछिल्लो ट्रफी देखेर अलमल्ल परे।
मेस्सीले गत सोमबार फ्रान्समा आफू विश्वकै उत्कृष्ट खेलाडी घोषित हुँदै आफ्नो सातौँ गोल्डेन बल उठाए, यद्यपि अघिल्लो छ पटकको तुलनामा यो निकै विवादास्पद थियो। ३४ वर्षीय स्टार खेलाडीले बार्यन म्युनिख सुपरस्टार रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै बालोन डी ओर जितेका थिए। तर धेरैको नजरमा पोलिस स्ट्राइकर उक्त अवार्डका योग्य हकदार थिए।
विजेता मेस्सीले पनि स्वीकार गरे कि लेवान्डोस्कीले २०२० मा अवार्ड जित्नुपर्ने थियो, र यस्तोमा मेस्सीका आफ्नै छोरा पनि आफ्नो बुबाको सातौं ट्रफी पाएकोमा धेरै छक्क परेका छन्। सात बालोन डी ओरका साथ देखिएको एक भिडियोमा ९ वर्षीय थियागोले मेस्सीलाई किन तपाईंले सातौँ बालोन डी ओर जितेको भनेर प्रश्न गरेको देख्न सकिन्छ।
“तपाईंसँग किन सात बालोन डी’ओर छ बुबा? छ वटा थियो हैन र ?” सायद बालोन डी ओर समारोह भएको भुलेका थियागोले मेस्सीलाई सोध्छन्।
“मसँग अहिले सात छन्,” मेस्सी जवाफ दिन्छन्।
“आज जित्नुभयो? घरमा त छ वटा मात्र छ। कहिले जित्नुभयो?” थियागोले सोधे।
“आज,” मेस्सी भन्छन्।
“आज?! किन?!” थियागोले फेरी सोध्छन्।
“मलाई थाहा छैन,” मेस्सीले उत्तर दिए।

