मिस्टर च्याम्पियन्स लिग भनेर चिनिने म्यानचेस्टर युनाइटेड स्टार क्रिस्टियानो रोनाल्डोले बुधबार राति स्विस क्लब योंग बोइज विरुद्धको खेलमा अर्को एक रेकर्ड बनाउने मौका प्राप्त गर्नेछन्। समूह विजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरिसकेको युनाइटेडले आज राति नेपाली समय अनुसार १:४५ मा योंग बोइजको सामना गर्न लागेको हो।
३६ वर्षीय रोनाल्डोले आजको खेलमा गोल गर्न सकेको खण्डमा उनी समूह चरणका हरेक खेलमा गोल गर्न सफल हुनेछन्। यसका साथै उनी यस्तो कारनामा दुई पटक गर्ने पहिलो खेलाडी हुनेछन्। रोनाल्डोले च्याम्पियन्स लिगको २०१६-१७ सिजनमा समूह चरणका सबै खेलमा गोल गरेका थिए। उनी यस्तो काम गर्ने प्रतियोगिता इतिहास कै पहिलो खेलाडी हुन्। उनको यो रेकर्ड यसै सिजन डच क्लब आज्याक्सका सेबासटियन हालरले बराबरी गरेका थिए। तर रोनाल्डोले आजको खेलमा गोल गर्न सके उनी यस्तो काम दुई पल्ट गर्ने पहिलो र एक मात्र खेलाडी बन्नेछन्।
म्यानचेस्टर युनाइटेड विरुद्ध योंग बोइजको खेल बारे जानकारी:-
खेल: म्यानचेस्टर युनाइटेड विरुद्ध योंग बोइज
मिति: बिहिबार, ९ डिसेम्बर
समय: राति १:४५ बजे
कसरी हेर्ने त खेल ?
नेपाल, भारत लगायतका दक्षिण एशियाली देशहरुमा सोनी पिक्चर्स स्पोर्ट्स नेटवर्क (SPSN) सँग युईएफए च्याम्पियन्स लिग खेलहरू देखाउने अधिकार छ। यस्तोमा सोनी स्पोर्ट्स नेटवर्क अन्तर्गत कै च्यानल सोनी टेन १ एसडी र एचडी च्यानलमा यो खेल हेर्न सकिनेछ।