एजेन्सी – गएको सिजन प्रिमियर लिगको उच्च गोलकर्ता रहेका ह्यारी केन नयाँ सिजनमा संघर्षरत छन्। केन गएको सिजन जुन लयमा थिए, त्यो पूर्ण रुपमा गुमिसकेको छ। सन् २०२०-२१ को सिजनमा केनले प्रिमियर लिगमा कुल ३५ खेल खेल्दा २३ गोल गरेका थिए भने १४ असिस्ट दिएका थिए।
सिजनको अन्त्य हुँदा उनले टोटेनहम छाड्ने प्रयास पनि गरेका थिए। टोटेनहम उपाधिविहिन् हुँदा क्लब छाड्ने योजनामा रहेका उनलाई प्रिमियर लिगको अर्को क्लब म्यानचेस्टर सिटीले भित्र्याउन चाहेको थियो।
त्यसबेला आएका रिपोर्टहरुका अनुसार सिटी केनका लागि १ सय मिलियन युरो भन्दा बढी रकम तिर्न तयार थियो। तर टोटेनहमले सिटीको खोजेको भन्दा बढी डिमाण्ड गरेपछि सिटीले ज्याक ग्रिलिस किनेको थियो।
नयाँ सिजन शुरु भएपछि केनले टोटेनहमका लागि प्रिमियर लिगमा १३ खेल खेलिसकेका छन्। तर यस बीचमा उनले मात्रै १ गोल गरेका छन् भने १ असिस्ट दिएका छन्। भन्ने नै हो भने केन यति बेला करियरकै सबै भन्दा खराब अवस्थाबाट गुज्रिएका छन्।
लय गुमाएसँगै उनी अब सिटीको प्राथमिकतामा रहने छैनन्। गएको सिजन उच्च लयमा रहेका कारण सिटीले उनलाई भित्र्याउने प्रयास गरेको थियो। तर अब अवस्था त्यस्तो रहेन। अब सिटीले केन भन्दा पनि अन्य खेलाडीलाई प्राथमिकतामा राख्ने पक्का छ।