एजेन्सी – साविक विजेता इंग्लिस क्लब चेल्सी बराबरीमा रोकिदा इटालियन क्लब युभेन्ट्स आफ्नो खेलमा जित निकालेपछि समूह ‘एच’ को विजेता बन्दै च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।
घरेलु मैदानमा युभेन्ट्सले स्वीडिस क्लब माल्मोलाई १–० ले पराजित गर्दै समूह विजेता बन्न सफल भएको हो । घरेलु मैदानमा युभेन्ट्सको जितमा मोइस किनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १८औं मिनेटमा फेडरिको बर्नरडेस्चीको पासमा हेडमार्फत गोल गरेका थिए ।
घरेलु मैदानमा युभेन्ट्सले बल पोसेसन राखेपनि त्यसपछि थप गोल गर्न नसक्दा पहिलो हाफको गोल नै निर्णायक बन्यो । यो जितसँगै समूह विजेता बनेको युभेन्ट्सले ६ खेलबाट १५ अंक जोड्यो । पराजित माल्मो १ अंक जोडेर पुछारमा रह्यो ।
यही समूहको अर्काे खेलमा चेल्सीले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गसँिग ३–३ गोलको बराबरी खेल्दै अंक बाड्दा समूह उपविजेता बनेको छ । अन्तिम समयमा सम्हालिन नसक्दा चेल्सीले अंक बाँडेको हो ।
चेल्सीका लागि टिमो वेर्नरले दुई तथा रोमेलु लुकाकुले एक गोल गरे । जेनिथका क्लाउडिनो, सरदार एनमोउन र मागोमेड ओज्डोइभले गोल गरे । पिटर्सवर्गमा बुधबार राति भएको खेलको दोस्रो मिनेटमा नै टिमो वेर्नरको गोलबाट चेल्सीले अग्रता लिएको थियो । उनले एन्ड्रिएस क्रिस्टेन्सेनको पासमा गोल गरेका थिए ।
त्यसपछि क्लाउडिनोले २८औं मिनेट र सरदारले ४१औं मिनेटमा गोल गरेपछि घरेलु टोली जेनिथले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भएको थियो । ६२औं मिनेटमा लुकाकुले वेर्नरको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८५औं मिनेटमा वेर्नरले व्यत्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै चेल्सीलाई ३–२ ले अघि बढाए ।
उनले क्रिस्टियन पुलिसिसको पासलाई सदुपयोग गरेका थिए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा मागोमेड ओज्डोइभले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए । यो बराबरीसँगै चेल्सी ६ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा रह्यो । जेनिथ ५ अंक जोडेर तेस्रोमा नै रह्यो ।