कांग्रेस महाधिवेशन: गुट तितरबितर, आफ्नै-आफ्नै बीच लफडा !

काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि ६ नेताले पार्टी सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेस निर्वाचन समितिले निर्धारण गरेको समयभित्र सभापति पदमा वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिएका हुन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

त्यस्तै, कल्याण गुरुङ र युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दिएका छन्। देउवा र कोइरालाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् भने निधि र सिंहले पनि पदाधिकारीमा केही नेतालाई मैदान उतारेका छन्।

संस्थापन र इतर दुवै पक्षबाट दुईदुई नेता सभापतिमा खडा भएसँगै कांग्रेसमा २०६४ सालदेखि विद्यमान गुटहरू अहिले तितरबितर बनेका छन्। संस्थापन पक्षबाट देउवा र निधिले सभापतिमा उम्मेदवारी दिएका छन्। देउवाको विकल्प खोज्नुपर्ने भन्दै आएका संस्थापन इतर पक्ष पनि एक ठाउँमा उभिन असफल भए।

सहमतिका लागि भएको लामो प्रयास असफल भएपछि नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला नेतृत्वको दौडबाट बाहिरिएका छन्। पूर्वमहामन्त्री सिंह र शेखर मैदानमा खडा भएका छन्। १३औं महाधिवेशनबाट उदाएको कृष्णप्रसाद सिटौला नेतृत्वको तेस्रो धार देउवा समूहमा विलय भएको छ।

देउवालाई सभापतिमा सहयोग गर्दै सिटौलाले आफूनिकट युवा नेता प्रदीप पौडेललाई पार्टी महामन्त्रीमा खडा गरेका छन्। देउवा समूहबाट अर्काे महामन्त्रीमा प्रकाशशरण महतलाई मैदानमा उतारिएको छ। महामन्त्रीमा दाबी गर्दै आएका बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउदले खुलातर्फको केन्द्रीयमा उम्मेदवारी दिएका छन्।

देउवा समूहकै महामन्त्रीका आकांक्षी विश्वप्रकाश शर्माले समूह छाडेका छन्। संस्थापन इतर समूहमा सक्रिय नेता सिंहको समूहमा जोडिँदै शर्माले महामन्त्रीको उम्मेदवारी दिएका छन्। देउवा समूहमा सिटौला हाबी भएपछि झापाका शर्मा त्यसबाट अलग्गिएर सिंहसँग जोडिन पुगेका हुन्। सिंह लौहपुरुष गणेशमान सिंहका छोरा हुन्।

दुई उपसभापति पदमा देउवा समूहबाट विजय गच्छदार र पूर्णबहादुर खड्काले उम्मेदवारी दिएका छन्। त्यस्तै, समावेशी सहमहामन्त्रीमा आदिवासी जनजातिमा भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर विक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस–आर्यमा किशोरसिंह राठौर, थारूमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार बनेका छन्। थारूबाट सहमहामन्त्री उम्मेदवार चौधरी सिटौलानिकट नेता हुन्।

देउवाविरुद्ध खडा भएका शेखर कोइरालाले उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई खडा गरेका छन्। तर, शेखरलाई नेतृत्व अस्वीकार गर्दै मैदान खडा भएका सिंहको समूहमा सुजाता कोइरालाले उम्मेदवारी दिएकी छन्।

नेता रामचन्द्र पौडेललाई सभापतिको प्रत्यासी बनाउनुपर्ने प्रस्ताव गरेका भाइ शशांक नै असन्तुष्ट रहेका बेला बहिनी सुजाताले पनि शेखरको साथ छाडेकी छन्। सभापतिको उम्मेदवार बनेका शेखर केशव कोइरालाका छोरा हुन् भने शशांक, बिपी र सुजाता गिरिजाप्रसादका छोराछोरी हुन्।

कोइराला परिवारका नातेदारसमेत रहेका कांग्रेस नेता महेश आचार्य सभापतिको कुनै उम्मेदवारसँग नजोडिईकन उपसभापतिको प्रत्यासी बनेका छन्। शेखर समूहबाट समावेशी आठ सहमहामन्त्री खसआर्यमा देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितमा जीवन परियार, आदिवासी जनजातिमा विकास लामा, महिलामा कमला पन्त, मधेसीमा रामकृष्ण यादव, थारूमा तेजुलाल चौधरी र मुस्लिम वकिल मियाँ उम्मेदवारी दिएका छन्। निधिको समूहबाट उपसभापतिमा दिव्यश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। निधि कांग्रेसका नेता महेन्द्रनारायण निधिका छोरा हुन्।

प्रकाशित : आइतबार, मङि्सर २६, २०७८०८:५६

नेपाल–तिब्बत रेलमार्ग चीनको प्राथमिकतामा !