नेपाल–तिब्बत रेलमार्ग चीनको प्राथमिकतामा !

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले भू–परिवेष्ठित मुलुक नेपालसँगको सम्पर्कसञ्जालको रुपमा सडक र रेलमार्ग परियोजनामा सहयोग गर्ने बताएका छन् । चीनले क्षेत्रीय प्रतिस्पर्धी भारतलाई ध्यानमा राख्दै नेपाललाई सडक र रेलमार्गले जोड्न सहयोगलाई तीव्रता दिन लागेको हो । नेपालको पुनर्निर्माणको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै वाङले सन् २०१५ मा गएको भूकम्पपछिको पुनर्निर्माणमा पनि चीनको साथ सधैँ रहने बताएका थिए । उनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मा सहकार्य बढाउन पनि आग्रह गरेका थिए । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

‘चीनले सीमापारको रेलवे परियोजना सम्भाव्यता अध्ययनको कामलाई तीव्रता दिनेछ, हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल सुधार गर्नेछ र नेपाललाई ‘ल्यान्डलक्ड’ (भूपरिवरिवेष्ठित) मुलुकबाट ‘ल्यान्ड लिंक्ड’ (जमिनबाट जोडिएको) मुलुक बन्ने सपना पूरा गर्न सहयोग गर्नेछ’, बुधबारको सम्मेलनमा भिडिओ लिंकबाट वाङले भनेका थिए ।

उनले नेपालको आर्थिक सुधारको लागि व्यापार, लगानी र ऊर्जा आपूर्तिदेखि पूर्वाधार र जलवायु परिवर्तनजस्ता बीआरआईका योजनामा सहकार्य बढाउन पनि आग्रह गरेका थिए । चीनको सिगात्सेदेखि काठमाडौंसम्मको ८ अर्ब डलरको सीमापार रेलवेले नेपालको अर्थतन्त्रलाई बढाउने अपेक्षा छ । नेपाल चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड रणनीतिको महत्वपूर्ण भाग पनि हो ।

यो रेलमार्गको योजना सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएको एउटा सम्झौता हो । दुई मुलुकलाई जोड्ने पूर्वाधार सुधारको लक्ष्यसहित यो सम्झौता भएको थियो । विशेषज्ञहरुका अनुसार दुवै पक्षले यो परियोजनालाई बारम्बार समर्थन गर्दै आएका छन् । यद्यपि अहिले यो योजना इन्जिनियरिङ्ग र वातावरणीय चुनौतीको कारण रोकिएको छ । यो परियोजना सानो छिमेकी मुलुकमाथि भारतको निशानामा परेको पनि स्पष्ट देखिएको छ ।

मणिपाल एडभान्स रिसर्च ग्रुपका उपाध्यक्ष प्राध्यापक माधव नलपट यो रेलमार्ग निर्माणको समस्या भनेको रणनीतिकरुपमा महत्वपूर्ण हुनु त छँदैछ, यो रुटमा व्यापारको माग पनि कम रहेकाले वास्तविकतामा यसको प्रयोग सीमित हुन सक्ने बताउँछन् । ‘न त त्यति धेरै यात्रुहरुको नै माग छ। त्यसैले धेरै भारतीयको बुझाइमा यो रेलमार्गलाई तीव्रता दिनुको उद्देश्य चिनियाँ सेना नेपालमा ल्याउनु नै हो भन्ने छ’, नलपाटले भने ।
गत वर्षको जुनयता चीन र भरतको सम्बन्ध पनि चिसिएको छ। भारतको लद्दाखस्थित चीनसँगको सीमाक्षेत्रमा दुई मुलुकका सैनिकबीच झडप भएको थियो । यो झडपमा धेरैको मृत्यु पनि भएको थियो ।

‘दक्षिण एसियामा चीन र भारतको धारणामा ठूलो अन्तर छ, साथै, दक्षिण एसियाली मुलुकमा भारतको प्रभाव चीनको भन्दा निकै ठूलो छ’, फुदान युनिभर्सिटीमा दक्षिण एसियाली अध्ययन केन्द्रका सहायक निर्देशक लि मिनवाङले भने । ‘चीनले दक्षिण एसियाली मुलुकको अर्थतन्त्रको विकासको लागि सहयोग गर्न सक्छ र त्यही समयमा विशेषगरी नेपालको लागि भारतसँगको असन्तुष्टि बढिरहेको अवस्थामा सम्बन्ध विस्तारको लागि पनि सहयोग पुग्न सक्छ’, उनले थपे ।

पछिल्लो समय हिमालय क्षेत्रमा रणनीतिक प्रभाव विस्तारको लागि चीनसँग प्रतिस्पर्धा गरिरहेको भारतले तिब्बत–काठमाडौं रेल परियोजनालाई निरन्तर विरोध गर्दै आएको छ । गत वर्ष उसले नेपाली नेताहरुलाई मनाएर काठमाडौंदेखि भारतसम्मको फास्ट ट्र्याक रेल सञ्जालको लागि सहमत गराएको थियो । नालन्दा युनिभर्सिटीका एसोसिएट प्राध्यापक राजीभ राजन चतुर्वेदीका अनुसार चीन–नेपाल रेलवे परियोजनाले परिस्थिति प्रणालीमा असर गर्छ कि भन्ने आशंकामा छ ।

बुधबारको सम्मेलनको क्रममा वाङले नेपालको कोरोना महामारीविरुद्धको लडाइँ र भूकम्पपछिको पुनर्निर्माणमा निरन्तर सहयोग जारी राख्ने बताएका थिए । ‘चीनले नेपालको अन्तर्राष्ट्रिय सहकार्य बढाउन लिएको नेतृत्वको भूमिकालाई पनि समर्थन गर्दै आएको छ । सबै पक्षले नेपालको सार्वभौमसत्ता, सुरक्षा र विकासको सम्मान गर्नुपर्ने र नेपाललाई दिइने सहयोगमा कुनै पनि राजनीतिक घण्टी झुण्ड्याइनु हुँदैन’, उनले भने ।

प्रकाशित : आइतबार, मङि्सर २६, २०७८०९:२८

पढ्दा-पढ्दै छात्रा बेहोस हुन थाले, विद्यालय बन्द !