काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेयरबजारलाई साम्राज्यवादको विकसित रुप बताएपछि शेयर बजारमा पहिरो नै गएको छ। प्रचण्डले शेयरबजारलाई सामन्तवादको संज्ञा दिएपछि लगातार दुई दिन नेप्सेमा पहिरो गएको हो।
प्रचण्डको अभिव्यक्ति पछि आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै ८९ अङ्कले ओरालो लाग्दा सोमबार ७९.५७ अङ्कले झरेको छ। सोमबार सम्म आइपुग्दा हालसम्मकै कम बिन्दुमा आइपुगेको छ।
दुई हजार ३६१.२७ अङ्कमा रहेको नेप्से सोमबार २२८२.०१ बिन्दुमा झरेको छ । नेपाली शेयर बजार इतिहासमा पहिलो पटक ३ हजार ९८.८३ विन्दुमा पुगरे उच्च रेकर्ड राखेको थियो। तर पछिल्लो समय बियरिस ट्रेन्डमा प्रवेश गरिसकेको छ।
पहिला देखि नै ओरालो लागेको शेयर बजार प्रचण्डको अभिव्यक्ति पछि झनै ओरालो लाग्नुलाई पोलेको घाउमा नुन छर्किए जस्तै भएको लगानीकर्ताहरु बताइरहेका छन्। नेप्से घट्दा आइतबार ३३ खर्ब १९ अर्ब रहेको बजार पुँजीकरण सोमबार ३२ खर्ब ७ अर्बमा झरेको छ। यस अर्थमा एकै दिन १ खर्ब भन्दा बढी पुँजीकरण घरिसकेको छ।
नेप्सेका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.४७ अङ्कले घटेर ४३७.५९ मा ओर्लिएको छ । कूल २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर रु तीन अर्ब ९९ करोड ५६ लाख चार हजार १७८ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३४.११, व्यापार ९९.११, होटल तथा पर्यटन ५४.९२, विकास बैंक २११.७६, जलविद्युत् १०५.८२, वित्त १०९.७८, निर्जीवन बीमा ५४५.९८, उत्पादन १७१.७२, अन्य ६९.३५, लघुवित्त १८७.३३, जीवन बीमा ४२५.३३, सामूहिक लगानी कोष ०.२४ र लगानी ३.५५ अङ्कले ओरालो लागेको छ । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब सात अर्ब ७८ करोड १० लाख ९५ हजार ९० बराबर पुगेको छ ।