रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जेमा लस ब्लान्कोसले बोरुसिया डर्टमण्डका स्ट्राइकर एर्लिङ हालान्डलाई अर्को समरमा अनुबन्ध गरेमा फ्रान्सेली जाइन्ट पीएसजीमा जाने योजनामा रहेको बताइएको छ।
एल नेशनलका अनुसार, बेन्जेमाले पार्क्स डेस प्रिन्सेसको सम्भावित ट्रान्सफर बारे पीएसजीसँग वार्ता सुरु गरिसकेका छन्। रियल म्याड्रिडले अर्को समरमा हालान्डलाई अनुबन्ध गर्न प्राथमिकता दिएको विश्वास गरिन्छ, जसलाई बेन्जेमाको दीर्घकालीन प्रतिस्थापनको रूपमा हेरिएको छ। करिम बेन्जेमा २००९ को समरमा फ्रान्सेली क्लब लियोनबाट स्पेनिस क्लबसँग आवद्ध भएका थिए। क्लबसँगको आफ्नो १२ सिजनमा फ्रान्सेली खेलाडीले सबै प्रतियोगिताहरूमा ५८० खेलमा २९७ गोल गरेका छन्।
उनले क्लबलाई तीन ला लिगा, दुई कोपा डेल रे र चार च्याम्पियन्स लिग उपाधि जिताउन मद्दत गरेका छन्। २०१८ मा क्लबका कीर्तिमानी गोलकर्ता क्रिस्टियानो रोनाल्डो युभेन्टसका लागि रियल छाडेपछि बेन्जेमा रियल म्याड्रिडको राजा बनेका छन्। बेन्जेमाले यस सिजन कार्लो एन्सेलोटीको टोलीका लागि २१ खेलमा १८ गोल गरेका छन् र ८ असिस्ट समेत प्रदान गरेका छन्। करियर कै उच्च लयमा रहेपनि उमेर फ्रेन्च खेलाडीको साथमा रहेको छैन। त्यसैले रियल म्याड्रिडले ३३ वर्षीय स्ट्राइकरको दीर्घकालीन उत्तराधिकारीलाई अनुबन्ध गर्न खोज्दै छ।
बोरुसिया डर्टमुण्डका स्ट्राइकर एर्लिङ हालान्ड अहिले युरोपको सबैभन्दा मूल्यवान युवा खेलाडी मध्ये एक हुन्। नर्वेजियनले बुन्डेसलिगा दिग्गजहरूका लागि सबै प्रतियोगिताहरूमा ७३ खेलहरूमा अविश्वसनीय ७४ गोल गरेका छन्। उनी अर्को समरमा युरोपको शीर्ष क्लबमा सामेल हुन इच्छुक रहेको विश्वास गरिन्छ।