एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ मा अर्जेन्टिनी स्टार सम्मिलित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले स्पेनिस महारथी रियल म्याड्रिडको सामना गर्ने भएको छ। पहिला गरिएको ड्र विभिन्न त्रुटीहरुका कारण रद्द भएपछि गरिएको रि-ड्रपछि पिएसजीले रियलको सामना गर्ने टुंगो लागेको हो।
पहिलो ड्रमा पिएसजीले म्यानचेस्टर युनाइटेडको सामना गर्नुपर्ने थियो। तर अब पिएसजीले रियलको सामना गर्नुपर्ने छ। रियल पिएसजीका स्टार मेस्सीले सबै भन्दा बढी सामना गरेको क्लब मध्ये एक हो। मेस्सीले बार्सिलोनामा हुँदै डेढ दशक सम्म रियलको सामना गरेका थिए।
रियल विरुद्ध यस्तो छ मेस्सीको तथ्यांक
मेस्सीले अहिले सम्म रियलको ४५ पटक सामना गरेका छन्। लालिगा, च्याम्पियन्स लिग सहित अन्य सबै प्रतियोगितामा गरी मेस्सीले रियलको यति संख्यामा सामना गरेका हुन्। मेस्सीको तथ्यांकलाई हेर्ने हो भने रियल विरुद्ध १९ जित निकाल्दा १५ हार बेहोरेका छन्। त्यस्तै बाँकी ११ खेलमा भने बराबरी खेलेको तथ्यांक छ।
रियलसँग मेस्सीको च्याम्पियन्स लिगमा २ पटक, लालिगामा २९ पटक, कोपा डेल रेमा ८ पटक र सुपरकोपामा ६ पटक आमने-सामने भएको छ। मेस्सीले रियल विरुद्ध २६ गोल गरेका छन् भने १४ असिस्ट दिएका छन्।
च्याम्पियन्स लिगमा के छ तथ्यांक
च्याम्पियन्स लिगमा मेस्सी रियलसँग पराजित भएका छैनन्। च्याम्पियन्स लिगमा मेस्सी र रियल बीच दुई पटक भेट हुँदा १ खेलमा जित निक्लिएको थियो भने १ खेल बराबरीमा टुंगिएको थियो। मेस्सीले च्याम्पियन्स लिगमा रियल विरुद्ध २ गोल गरेका छन्।

